सरकारले जसरी सरकार चलाइरहेको छ, त्यसरी नै चुनाव घोषणा गर्‍यो : सुवास नेम्वाङ

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १९ : १५
सरकारले जसरी सरकार चलाइरहेको छ, त्यसरी नै चुनाव घोषणा गर्‍यो : सुवास नेम्वाङ

बुटवल । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति घोषणा गर्दा छलफल नगरेकोप्रति असन्तुष्टि जनाएका छन्। बुटवलमा प्रेस चौतारी रूपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन घोषणाअघि प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्नुपर्ने मान्यताअनुरूप छलफल नगरेको बताए।

‘सरकारले जसरी सरकार चलाइरहेको छ, त्यसरी नै चुनाव घोषणा गर्‍यो, यस्तो महत्त्वपूर्ण विषयमा हामीसँग हेलो पनि भएन’, उनले भने, ‘हामी प्रमुख प्रतिपक्षी दल हौँ, लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दल राज्यको अभिन्न अंग हौँ, सुटुक्क छापामार शैलीमा पो घोषणा गर्‍यो।’

उनले घोषणा भएको मितिमा निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन गर्न सरकार र निर्वाचन आयोग प्रतिबद्ध हुनुपर्ने बताए।संघीयताविरोधी भावना र प्रदेश खारेजीको माग एमाले कार्यकर्ताहरूबाट उठिरहेको भन्ने पत्रकारको जिज्ञासामा उनले एमाले संविधानभन्दा बाहिर जाने कुरा एमालेले नगर्ने बताए।

उनले भने, ‘बाहिर साथीहरूले के भन्नुभएको छ, त्यो एमालेको संस्थागत धारणा हैन, एमाले लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध छ, यो संविधानभन्दा बाहिर हामी जादैनौं, संविधान नै हाम्रो राजनीतिको मूल आधार हो।’

उनले निर्वाचनमा सहमतिका आधारमा गठबन्धन बनाएर जाने तयारीमा रहेको बताए। उनले अन्य दलसँग गठबन्धन बन्ने सम्भावना नरहेमा एक्लै पनि निर्वाचनमा जाने र राम्रो संख्यामा सिट जित्ने बताए।

‘हामी अहिलेसम्मका सबै बहिखाता बोकेर चुनाबमा जान्छौँ, जनताले दूधको दूध पानीको पानी बनाउनेछन्, उनले भने, ‘हामी राम्रो संख्यामा जित्नेछौँ।’

प्रतिक्रिया दिनुहोस