बजारमा मूल्य वृद्धिले जनजीवन कष्टकर बन्दै

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, २० : १६
बजारमा मूल्य वृद्धिले जनजीवन कष्टकर बन्दै

उदयपुर । दैनिक भान्सामा प्रयोग हुने उपभोग्य बस्तुको मूल्य वृद्धीले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ । मूल्य वृद्धिका कारण दैनिक भान्सा चलाउन मुस्किल हुन थालेका छन् । मंहगीले सर्वसाधारण नागरिकलाई चुल्हो धान्न गारो भएको छ । 

दैनिक उपभोग्य सामग्रीको मूल्य अहिले ५० देखि १०० प्रतिशतसम्म वृद्धि भएको छ । मूल्य वृद्धिले गरिब तथा बिपन्न परिवार भान्सा चलाउन नै मुस्किल परेका छन् । दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिले दैनिक ज्यालादरी मजदुर र आम्दानी थोर हुने सर्बसाधारणलाई परिवार धान्न चर्को परेको गुनासो बढ्दो छ । 

खानेतेल सब भन्दा बढी महँगिएको उपभोग्य बस्तु मध्ये एक हो । केही महिना अघि ६० रुपैँया पर्ने आधा लिटर खाने तेलको मूल्य अहिले १ सय १० पुगेको छ । दाल, चामल, गेडागुडी सबैको भाउ बढेको छ ।

लसुन, प्याज, अदुवा जस्ता मसलाजन्य बस्तु सबैको भाउ बढेको बेला हरियो तरकारी छोइ नसक्नु भएको छ । १ हजारको नोट लिएर बजार निस्कदा एक झोला तरकारी पाउन गाह्रो हुने गरेको गृहिणीहरु बताउँछन् ।  महँगी बढेपछि भान्सा चलाउन समस्या हुने गरेको बताउँछिन् । 

दैनिक मजदुरी गरि खाने त्रियुगा नगरपालिका– १२ बिसनपुरमा बिलट सदाले दैनिक ज्यालामजदूरी गरि ५ सय कमाएर ल्याउँदा उनको परिवारलाई एक छाक टार्न समस्या हुने गरेको बताए । सबै दिन काम हुँदा सहजै भए पनि वर्षायाम भएकाले काम गर्न नपाउँदा जीवनशैली थप कष्टकर बन्न पुगेको उनको भनाइ छ ।

गरिब तथा बिपन्न दैनिक ज्यालामजदुरी गरि खाने समुदायलाई महँगीको मारले उठ्नै नसक्ने गरी थिचेको छ । बजारमा सबैको भाउ आकाशिएको छ, यता दैनिक उपभोग्य बस्तुको त्यस्तै ।'जति नै मंहगी बढेता पनि हातमुख त जोड्नै पर्छ । जतिसुकै महँगो भए पनि खान त पर्छ' उनले भने । आफ्नो भान्सा चल्नै नसक्ने अवस्था सिर्जना भएको उनले सुनाए ।

उनीहरु जस्ता हजारौँ ज्याला मजदुरी र निम्न आय भएका गरिब र विपन्न वर्ग गाईघाटमा बसोबास गर्छन् । सदरमुकाम र सहरोन्मुख भएकाले गाउँबाट अस्थायी कमाई गर्न दैनिक ज्याला मजदुरी गर्न आउनेको संख्या निकै छ । 

पछिल्लो समय बढेको मंहगीले दैनिक ज्यालामजदुरी गरि खाने मजदूरलाई जिवन धान्न समस्या भएको नेपाल बिजुली प्लम्बर तथा पेन्टर संघ (क्युपेक) ले जनाएको छ । 'महँगीले ज्याला मजदुरी गर्न आउने बाहिरका कामदारको जीवनशैली अत्यन्त पीडादायक भएको छ । चामल, तेल, दालदेखि हरियो तरकारी सम्मको भाउ दोब्बर बढेको छ भने यता ज्याला नबढ्दा मजदुरहरु परिवार पाल्नै नसक्ने अवस्थामा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस