सरकारले पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा धकेल्योः प्रकाण्ड

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १६ : ०२
सरकारले पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा धकेल्योः प्रकाण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो।

पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्वन्द्वमा धकेल्ने कदम हो। सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयको चरणमै छ। सहमतिअनुसार सरकारले काम गरिरहेको छैन।’

ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै ६ साउन ०७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीबाट विद्रोही गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस