पहिराले नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध

रासस

सोमबार, १६ साउन २०७९, १४ : ५८
पहिराले नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध

नवलपुर । अविरल वर्षाका कारण झरेको पहिराका कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ । नवलपुरको दलदले–कुमसोत– पोखरी हुँदै पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार जाने बाटो पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्गे्रमा पहिरो खसेका कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ,  पानी परिरहेको र पहिरो झर्ने क्रमसमेत नरोकिएकाले तत्काल यो सडकखण्ड सञ्चालन हुने सम्भावना नरहेको उनको भनाइ थियोे ।

जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक पहिराले अवरुद्ध भएपछि दुई गाउँपालिकाको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ ।  यो सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षाको समयमा पहाडी क्षेत्रको यातायात सम्पर्क सदरमुकामसँग टुटदै आएको छ । पाङ्गे्रसहित पोखरी–डेढगाउँ र पोखरी–बुलिङखण्डमा समेत यातायात सञ्चालन कठिन भएको छ । अन्य स्थानमा समेत ठाउँठाउँमा साना साना पहिरो झेरको छ । 

यसैगरी  पहाडी क्षेत्रको वैकल्पिक मार्गका रुपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र यस खण्डमा पर्ने खोलाहरूमा आएको बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पाठकले बताए । दुवै तर्फका सडक तत्काल पूर्णरुपमा सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको उनले जानकारी दिए । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान– खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएकोे छ । यता पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिराका कारण राजमार्ग अवरुद्ध हुँदा एकतर्फी यातायात सञ्चालन गरिएको छ । पहिरो पन्छाउने काम चलिरहेको र राजमार्ग पूर्णरुपमा सञ्चालन हुन समय लाग्ने प्रहरी नायब उपरीक्षक पाठकले बताए । 
 

प्रतिक्रिया दिनुहोस