बेलायतका राजकुमार चार्ल्सको परोपकारी संस्थाले बिन लादेनका आफन्तबाट अनुदान लिएको खुलासा

एजेन्सी

सोमबार, १६ साउन २०७९, ०८ : ४४
बेलायतका राजकुमार चार्ल्सको परोपकारी संस्थाले बिन लादेनका आफन्तबाट अनुदान लिएको खुलासा

एजेन्सी । बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनका आफन्तबाट दिएको दश लाख पाउन्ड (करिब १२ लाख अमेरिकी डलर) अनुदानबारे एक पत्रिकामार्फत सार्वजनिक भएपछि उनको परोपकारी संस्थामाथि थप प्रश्नहरू उठेका छन्।

‘जीवन परिवर्तन गर्न र दिगो समुदाय निर्माणका लागि’ प्रिन्स अफ वेल्सको परोपकारी कोषको स्थापना सन् १९७९ मा गरिएको थियो र यसले बेलायत र विश्वभरका विभिन्न परियोजनाहरूलाई अनुदान दिन्छ। ‘द सन्डे टाइम्स’ले भनेको छ, ‘प्रिन्स अफ वेल्स’को परोपकारी कोषले सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको थियो।

यी दुवै सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका पूर्व अल काइदा नेता लादेनका सौतेनी भाइहरू हुन्। उक्त पत्रिकामा भनिएको छ, ‘संस्थाका सल्लाहकारले राजगद्दीका उत्तराधिकारीलाई उक्त अनुदान नलिन आग्रह गरेका थिए।’चार्ल्स क्लारेन्स हाउस अफिसले अनुदान लिइएको पुष्टि गरेको छ। उक्त रकम स्वीकार गर्ने निर्णय राजकुमारले नभई परोपकारी संस्थाका जिम्मेवार अधिकारीहरूले लिएको र ‘यो अनुदान स्वीकार गर्न विस्तृत तथा आवश्यक सावधानी अपनाइएको थियो’ उक्त पत्रिकाले बताएको छ।

उक्त अनुदान संस्थाका तत्कालिन पाँच उच्च अधिकारीहरूको ‘पूर्णतया’ सहमतिमा लिइएको भन्दै यसबारे अन्य सुझाव दिने कुनै पनि प्रयास भ्रामक र गलत भएको कोषका अध्यक्ष इयान चेशायरले बताए। ७३ वर्षीय चार्ल्सले आफ्नो परोपकारी संस्थाको परिचालनबारे एकपछि अर्को दाबीहरूको सामना गर्नुपरेको छ।

गत महिना सन्डे टाइम्सको एक रिपोर्टमा उनले कतारका पूर्व प्रधानमन्त्री शेख हमाद बिन जसिम बिन ज्याबेर अल थानीबाट ३० लाख अमेरिकी डलर बराबरको नगद स्वीकार गरेका उल्लेख गरिएको थियो।

लण्डन प्रहरीले हाल राजकुमारको अर्को परोपकारी संस्था, प्रिन्स फाउन्डेशनसँग सम्बन्धित मानिसहरूले अनुदानको बदलामा एक साउदी अर्बपतिलाई सम्मान र नागरिकता सुरक्षित गर्न मदत गर्ने प्रस्ताव राखेको एउटा छुट्टै आरोपबारे अनुसन्धान गरिरहेको छ। क्लारेन्स हाउसले चार्ल्सलाई त्यस्तो प्रस्तावबारे केही थाहा नभएको बताएको छ।