नारायणगढ–मुग्लिन सडक : कतै पहिरो, कतै जाम, कतै सुनसान, कतै काम (फोटोफिचर)

सूर्यप्रकाश कँडेल

विहीबार, २४ जेठ २०७५, १७ : ०६
नारायणगढ–मुग्लिन सडक : कतै पहिरो, कतै जाम, कतै सुनसान, कतै काम (फोटोफिचर)

चितवन । सडक बिस्तारको काम प्रभावकारी बनाउन बिहान दस बजेदेखि दिउँसो चार बजेसम्म यातायात बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहीबारदेखि चौबीसै घण्टा यातायात खुल्ला गरिएको छ । आँपटारीदेखि मुग्लिनसम्मको ३३ दशमलव दुई किलोमिटर सडकको सबै ठाउँमा पहिलो तहको कालोपत्रे गर्ने काम सम्पन्न भएपछि सडक खुल्ला गरिएको हो । नारायणगढ–मुग्लिन सडकखण्डको काम अझै सकिएको छैन । सडकको केही ठाउँमा दोस्रो तहको कालोपत्रे र अधिकांश ठाउँमा तेस्रो तहको कालोपत्रे गर्ने काम बाँकी नै छ ।
चौबीसै घण्टा यातायात खुल्ला गरिएको पहिलो दिन बिहीबार नारायणगढदेखि मुग्लिनसम्मको करिब एक घण्टाको यात्रामा कतै पहिरो, कतै सवारी जाम, कतै सुनसान सडक र कतै भिरमा भइरहेको काम देख्न पाइयो । सडक किनारबाट तल त्रिशुली नदीतर्फको भिरमा दुई ठाउँमा जमिनदेखि माथिसम्म ठाडो र भिरबाट तेर्सो फलामे डण्डी राखेर कंक्रिट र सिमेण्टले भर्दै सडक छेउसम्म ल्याउने (रक एङ्करिङ) को काम भइरहेको थियो । अन्य तीन ठाउँमा रक एङ्करिङको काम सम्पन्न भइसकेको नारायणगढ मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनी आईसीटीका सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरेले जानकारी दिनुभयो ।


सडकदेखि माथितिरको पहरामा ड्रिल गरेर रड घुसाउने काम भइरहेको थियो । त्यो रडमा ग्याबिन जाली अड्काएर नटबोल्टले कस्ने (रक नेटिङ) को काम दुई ठाउँमा भइरहेको थियो । पहिरो रोकथामको लागि यो काम नौ ठाउँमा गरिने आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर शिव खनालले माथिबाट ठूला चट्टान खस्न नपाओस् भनी चारकिलो आसपासको दुई ठाउँमा चर्केका ठूला चट्टानलाई जोड्ने (रक बोल्टिङ) को काम हुने जानकारी दिनुभयो ।


नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार पहिरो रोकथामको लागि नारायणगढ मुग्लिन सडक खण्डको दासढुंगादेखि चोरखोलासम्म ११ ठाउँमा बिरुवा लगाउने (वायोइन्जिनियरिङ) र रक नेटिङको काम भइरहेको छ । यसैगरी चोरखोलादेखि मुग्लिनसम्म २१ ठाउँमा रक बोल्डिङ र रक नेटिङको काम भइरहेको छ । यी सबै काम न्यू टेक्निकल हाई हिमालयन हिम सगरमाथा जेभीले क्रमशः ६ करोड र आठ करोडको ठेक्का लिएर गरिरहेको छ । पहिलो ठेक्का अन्तर्गत ३१ प्रतिशत र दोस्रो ठेक्का अन्तर्गत ४५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख रोहितकुमार विसुरालले जानकारी दिनुभयो । वैशाख महिनाबाट सुरु भएको पहिरो रोकथामको काम असार मसान्तसम्म सक्नुपर्ने उहाँको भनाइ छ ।
नारायणगढ मुग्लिन सडकखण्डमा बिहीबार दिउँसो जे देखियो, हेर्नुहोस् तस्बिरमा :

 

प्रतिक्रिया दिनुहोस