अभिनेत्री मिरुना मगरविरुद्ध मुद्दा दर्ता

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १४ : २१
अभिनेत्री मिरुना मगरविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन्।

उनले गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताएका छन्।माफी माग्ने सवालमा पटक-पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन्।

फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि तामाङले कारवाही माग गरेका हुन्। दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन्। तामाङले बुधबार आफै उपस्थित भएर मुद्दा दर्ता गराएका हुन्।

जेठ १५ गते साँझ सिभिल मलमा भएको चलचित्र प्रदर्शनपछि चलचित्रकी नायिका मिरुनाले लामा पहिरनमा आएका फुर्पा तामाङलाई दुर्व्यवहार गरेको भन्दै झापड हानेकी थिइन्।

नायिकाले उक्त युवकलाई उनको शरीरमा पछाडिपट्टि पटक-पटक असहज तरिकाले छोएको आरोप लगाएकी थिइन्।त्यहाँ झापड खाएका युवकले सबैको अगाडि माफी मागेका थिए। त्यसपछि उक्त युवकलाई प्रहरीले हिरासतमा लिएको थियो।

युवक प्रहरी हिरासतमा पुगेपछि मिरुनाको पक्ष विपक्षमा थुप्रै विवाद भयो। धेरैले मिरुनाले लामा पहिरनमा रहेका सोझा युवकलाई गलत आरोप लगाएको भन्दै आलोचना गरेका थिए।

घटनाको विषयलाई लिएर केएल टावर अगाडि प्रदर्शन गरी चलचित्र ‘कबड्डी- ४’ को पोस्टर जलाइएको थियो। धेरैले धर्मलाई जोडेर यो घटनालाई व्याख्या गरेका थिए र चलचित्र ‘कबड्डी- ४’ लाई बहिष्कार गर्ने बताएका थिए।

जेठ १७ गते नायिका मिरुना मगर र फुर्वा तामाङबीच सहमति भएको थियो।जिल्ला प्रशासन कार्यालयको रहोबरमा फुर्वाले गल्ती स्वीकारेर माफी मागेपछि नायिका मगरले भाइ सम्झेर माफी दिएपछि यो मुद्दामा सहमति भएको थियो।

दुवै पक्षका साक्षीहरुको उपस्थितिमा अब आइन्दा यो मुद्दालाई अगाडि नबढाउने विषयमा सहमति भएको थियो।मिरुनाका तर्फबाट चलचित्रका निर्देशक रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटा रहेका थिए।

त्यसपछि केहि दिनमै तामाङलाई जबरजस्ती माफी माग्न लगाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।तामाङले उक्त भिडियोमा नायिका मिरुनाले आफ्नो इज्जतको सवाल रहेको भन्दै रोइ कराइ गरेर माफि माग्न लगाएको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस