उद्योगमन्त्री बडूले गरे जनकपुर चुरोट कारखानाको अनुगमन

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १४ : ०१
उद्योगमन्त्री बडूले गरे जनकपुर चुरोट कारखानाको अनुगमन

जनकपुरधाम । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन गरेका छन्।

संघ सरकारको अधीनमा रहेको सो कारखानालाई मधेस प्रदेश सरकारले सरकारको स्थायी संरचना निर्माणका लागि आफूहरूलाई हस्तान्तरण गर्न भनिरहेको समय मन्त्री बडुले कारखानाको अनुगमन गरेका हुन्।

बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको सो कारखानाको अनुगमन गर्दै मन्त्री बडुले कारखाना सरकारले चलाएर निकै नाम कमाएको उद्योग रहेको र अहिले बेहाल अवस्थामा देखिएकाले कारखानाको अवस्था, यसको सम्पत्ति, मेसिनरीको अवस्था लगायतका विषयवस्तु बुझ्नका लागि अनुगमनमा आएको बताए।

मन्त्री बडूले भने, ‘हामीले यस कारखानालाई चलाउँदा किन रोकियो ? त्यसको पनि मूल्यांकन गर्नुपर्छ र यसले हामीलाई एउटा पाठ सिकाउँछ। सरकारले आफैँले चलाउने कि, सरकारले चलाउन नसके निजी क्षेत्रसँग सहकार्य गरेर चलाउन सकिन्छ। त्यसका अतिरिक्त अरू केही उपाय हुन सक्दछन्।’

उनले सरकारले अहिले राष्ट्रिय उत्पादन बढाउनका लागि विभिन्न नीतिहरू लिएको र उद्योगहरूको क्षमता बढाउने, नयाँ उद्योग सञ्चालन गर्नुका साथै बन्द रहेको कारखानाहरूलाई सञ्चालन गर्नका लागि बजेटहरूसमेत ल्याएको उनको भनाइ छ।
 

प्रतिक्रिया दिनुहोस