ग्लोबल रिच चितवनको ठगी धन्दा : आईईएलटीएस पढाउने शिक्षक नै फर्जी

सूर्यप्रकाश कँडेल

बुधबार, २३ जेठ २०७५, १८ : ५६
ग्लोबल रिच चितवनको ठगी धन्दा : आईईएलटीएस पढाउने शिक्षक नै फर्जी

चितवन । भरतपुर महानगरपालिका ११, भोजाडका रवि मास्बे अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ । स्टुडेण्ट भिसामा अस्ट्रेलिया जाने विचार गर्नु भएका मास्बेले आईईएलटीएस (IELTS) को तयारीका लागि २५ दिनअघि चितवनको नारायणगढस्थित ग्लोबल रिचमा भर्ना हुनुभयो । ६ हजार रुपैयाँ बुझाएर आईईएलटीएस तयारीको लागि ग्लोबल रिचमा भर्ना हुनु भएका मास्बेले एक महिना नहुँदै अर्को इन्ष्टिच्युटमा ६ हजार पाँच सय रुपैयाँ तिरेर आईईएलटीएस तयारी कक्षा लिइरहनु भएको छ ।
‘ग्लोबल रिचमा २५ दिन आईईएलटीएस तयारी कक्षामा बसेपछि त्यहाँको पढाई गतिलो नलागेर अहिले राइट एण्ड एसोसिएट्समा पुनः सुरुबाटै आईईएलटीसको तयारी कक्षा लिइरहेको छु’ बुधबार नारायणगढमा भेटिनु भएका मास्बेले भन्नुभयो, ‘ग्लोबल रिचमा आईईएलटीएस पढाउने टिचरले सामान्य अंग्रेजी भाषा पढाएजस्तो गरी पढाउनु भयो । चित्त नबुझेर अर्को इन्स्टिच्युटमा गएँ ।’ ग्लोबल रिचबाटै अस्ट्रेलिया जाने प्रकृया सुरु गर्नु भएका मास्बेको अस्ट्रेलियास्थित विश्वविद्यालयबाट अफर लेटर आइसकेको छ । आईईएलटीएसमा राम्रो अंक ल्याउन अर्को इन्स्टिच्युट जान बाध्य मास्बेको समय र पैसा दुबै ग्लोबल रिचले बर्बाद पारिदिएको छ ।
भारतको कोलकातामा कर्पोरेट कार्यालय रहेको ग्लोबल रिचको भारतभर दुई दर्जनभन्दा बढी शाखा छन् । अन्य शाखा भुटान, बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, न्यूजील्याण्ड तथा नेपालको काठमाडौं, पोखरा, बुटवल र चितवनमा छन् । नेपालका अन्य शाखामा आईईएलटीएस पढाउने शिक्षक मापदण्ड पूरा गरेका भएपनि चितवन शाखामा भने फर्जी शिक्षकले आईईएलटीएस पढाउने गरेका छन् । ग्लोबल रिच चितवनका प्रमुख सुरेश पौडेलले ‘ग्लोबल रिचले आईईएलटीएस पढाउँदैन’ भनेर गल्ती ढाकछोप गर्न खोज्नुभयो । आईईएलटीएस पढ्न विद्यार्थीलाई कहाँ पठाउनु हुन्छ त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘आईईएलटीएसको तयारी कक्षा ग्लोबल इन्टरनेशनल टे«निङ इन्स्टिच्युटमा हुन्छ । इन्स्टिच्युट मैले हेर्दिन, तेज दवाडी सरले हेर्नुहुन्छ ।’

ग्लोबल रिचका विद्यार्थीलाई आईईएलटीएस पढाउने शिक्षक तेज दवाडीले गैरकानूनी रुपमा आईईएलटीएस पढाइरहेका छन् । उनले आईईएलटीएस परीक्षा दिएको सर्टिफिकेटको कुरै छोडौँ, सामान्य शैक्षिक प्रमाणपत्रको प्रतिलिपी पनि ग्लोबल रिचमा बुझाएका छैनन् । गैरकानूनी रुपमा आईईएलटीएस पढाइरहेका दवाडी फर्जी शिक्षक हुन् । ग्लोबल रिचले शिक्षा विभागबाट शैक्षिक परामर्शसँगै भाषा शिक्षणको लागि अनुमतिपत्र लिँदा आईईएलटीएस इन्स्ट्रक्टर (शिक्षक) को नाम अन्य कसैको राखेको र तेज दवाडीको नाम नभएको समाचार स्रोतको दाबी छ ।

आईईएलटीएसको पूरा रुप इन्टरनेशनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम हो । यसको नेपाली अर्थ अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली हुन्छ । यो प्रणाली अन्तर्गत अंग्रेजी पढ्ने, लेख्ने, सुन्ने र बोल्ने परीक्षा लिइन्छ । हरेक बिधाको पूर्णांक नौ हुन्छ । शिक्षा विभागले तोकेको मापदण्ड अनुसार आईईएलटीएस पढाउने शिक्षकले हरेक बिधामा नौ पूर्णांकमा सात अंक ल्याउनु पर्छ । चार वटै बिधामा गरी २८ अर्थात् औसतमा सात अंक ल्याएपनि हुन्छ । एक पटक परीक्षा दिएपछि त्यसको मान्यता दुई वर्षसम्म रहन्छ । दुई वर्षपछि पुनः परीक्षा दिनु पर्छ, तर चितवनमा आईईएलटीएस पढाउने अधिकांश शिक्षकले आईईएलटीसमा सात अंक नै नल्याएको, सिमित शिक्षकले सातदेखि आठसम्म अंक ल्याएको पाइएको छ । शिक्षा मन्त्रालयबाट स्वीकृति लिने बेलामा आईईएलटीएसमा सात अंक ल्याएको शिक्षकको प्रमाणपत्र पेश गरेर इन्स्टिच्युटमा भने अर्कै शिक्षकले पठाउने गरेको समेत भेटिएको छ ।
चितवनमा रहेको राइट एण्ड एसोसिएट्स नामक संस्थामा आईईएलटीएस पढाउने शिक्षक जितबहादुर क्षेत्री योग्यता नपुगेका शिक्षकले आईईएलटीएस पढाउँदा विद्यार्थीको नतिजा कमजोर आउने बताउनु हुन्छ । ‘अस्ट्रेलिया पढ्न जाने विद्यार्थीले ओभरअल (औसतमा) कम्तीमा ६ अंक ल्याउनु पर्छ’ उहाँले भन्नुभयो, ‘मापदण्ड नपुगेका शिक्षकले पढाएका विद्यार्थीले चार–पाँच अंकभन्दा बढी ल्याउनै सक्दैनन् । यसले गर्दा उनीहरुको पैसा र समय दुबै बर्बाद हुन्छ ।’
चितवनमा आईईएलटीएस तयारी कक्षाको लागि निःशुल्कदेखि सात हजार पाँच सय रुपैयाँसम्म लिने गरिएको छ । शुल्कमा एकरुपता समेत छैन । ब्रिटिस काउन्सील वा आईडीपी अस्ट्रेलियामार्फत दिनुपर्ने आईईएलटीएस टेस्टको लागि १८ हजार दुई सय ५० रुपैयाँ बुझाउनु पर्छ । आवश्यक अंक ल्याउन नसकेर पुनः परीक्षा दिनु परेमा पुनः शुल्क बुझाउनु पर्छ ।
शैक्षिक परामर्श संघ चितवनका अध्यक्ष भानुभक्त खरेल शैक्षिक परामर्श र भाषा शिक्षण क्षेत्रमा शुद्धताको लागि आफूहरु प्रयासरत रहेको बताउनु हुन्छ । ‘आईईएलटीएस इन्स्ट्रक्टरले दुई दुई वर्षमा आईईएलटीएस दिनुपर्छ’ उहाँले भन्नुभयो, ‘सबैले दिएका छन् कि छैनन् भन्ने हामीलाई थाहै हुँदैन ।’

प्रतिक्रिया दिनुहोस