अछामका स्थानीय तहमा ३६ करोडबढी बेरुजु

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, १६ : १०
अछामका स्थानीय तहमा ३६ करोडबढी बेरुजु

काठमाडौं । अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को बेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार बेरुजु घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको वेरुजु ४५ करोड ५० लाख बेरुजु रहेको थियो । अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा बेरुजु घटेको छभने केही स्थानीय तहको बेरुजु बढेको छ ।

जिल्लाका १० पालिका मध्येमा सबैभन्दा बढी बेरुजु रामारोशन गाउँपालिका र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका रहको छ । रामारोशन गाउँपालिकाको वेरुजु रकम ६ करोड ६२ लाख ८३ हजार छ । रामारोशन गाउँपालिको आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ५२ लाख बेरुजु रहेकोमा गत आर्थिक वर्षमा वढेर ६ करोड ६२ लाख ८३ हजार पुगेको छ । जिल्लामा सबैभन्दा कम बेरुजु भएको वान्नीगढी जयगढ गाउँपालिकाको अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ९ लाख ९ हजार वेरुजु वढेको छ ।

यस्तै साँफेबगर नगरपालिकाको बेरुजु ५ करोड ६२ लाख ३६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा साँफेबगर नगरपालिकाको वेरुजु २५ लाख ६२ हजारले बढेको छ । पन्चदेवल नगरपालिकाको वेरुजु ४ करोड ९७ लाख १० हजार रहेको छ । पन्चदेवल विनायक नगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा १२ करोड २३ हजार वेरुजु घटाएको छ । अघिल्लो आर्थिक वर्षमा पन्चदेवल नगरपालिकाको बेरुजु १७ करोड रहेको थियो ।

ढकारी गाउँपालिकाको बेरुजु ०७७/०७८ ४ करोड ५२ लाख ९८ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा ढकारीको वेरुजु ३३ लाख ५७ हजारले बढेको छ । तुर्माखाँदको गाउँपालिकाको वेरुजु ३ करोड ५४ लाख ८३ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा तुर्माखाँदले बेरुजु १ करोड २३ लाख ३६ हजारले वढेको छ ।

मंगलसैन नगरपालिकाको वेरुजु भने अघिल्लो आर्थिक वर्षभन्दा घटेको छ । मंगलसैन नगरपालिकाको गत आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड २६ लाख ४७ हजार बेरुजु रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा ४ लाख ७१ हजारले घटाएको छ । चौरपाटी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ५० प्रतिशत बेरुजु घटाएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा चौरपाटीको बेरुजु २ करोड २२ लाख १६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा २ करोड ६० लाख वेरुजु घटाएको छ । मेल्लेख गाउँपालिकाको भने अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बेरुजु बढाएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा मेल्लेखको बेरुजु २ करोड ६५ लाख ८७ हजार रहेको छ ।

अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ३४ लाख ५१ हजार बेरुजु बढेको छ । कमलवजार नगरपालिकाको बेरुजु २ करोड ३१ लख १४ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा कमलवजारले ३५ लाख ८ हजार बेरुजु घटाएको छ । अछामका १० पालिकामध्ये पन्चदेवल विनायक नगरपालिका, चौरपाटी र कमलवारले वेरुजु घटाएका छन भने अन्य पालिकाको बेरुजु बढेको छ ।

प्रतिक्रिया दिनुहोस