बाबुरामलाई प्रचण्डको प्रस्ताव : एकता गरेर समाजवादी केन्द्र बनौँ

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १४ : ३४
बाबुरामलाई प्रचण्डको प्रस्ताव : एकता गरेर समाजवादी केन्द्र बनौँ

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भेटवार्ता भएको छ । प्रचण्ड र भट्टराईबीच बिहीबार ललितपुरको हात्तीवनस्थित प्रचण्डका आफन्तको अपार्टमेन्टमा करिब २ घण्टा भेटवार्ता भएको हो । 

उनले भट्टराईलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपालाई एकता गरेर अगाडि बढ्ने प्रस्ताव गरेका छन् । उनले भट्टराईसँग तीन पार्टीबीच एकता गरी नेकपा समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका हुन् ।  

पार्टी एकताका विषयमा बिहीबार बिहान ९ बजेदेखि ११ बजे उनीहरूबीच छलफल चलेको थियो । माओवादी केन्द्रसँग एकता गर्न भट्टराईले अस्वीकार गरेपछि प्रचण्डले विकल्पको रूपमा तीन पार्टीबीच एकता गएर जान सकिने सुझाएका हुन् । 

अध्यक्ष भट्टराई पनि प्रचण्डको प्रस्ताव सकारात्मक भएको स्रोतको भनाइ छ । उनले प्रचण्डलाई छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

यसअघि मं‌गलबार पनि दुई नेताबीच सिंहदरबारस्थिति नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको थियो । सोही दिन नेकपाकालीन बहुमत सदस्यहरूले पनि पार्टी एकताबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस