काठमाडौं । बिहीबारदेखि काठमाडौंको फोहोर एक साता नउठ्ने भएको छ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।
नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम नहुने भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
बिहीबारदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । कामपाले जारी गरेको सूचनामा यो अवधिमा आआफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरिएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ ।
हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध
१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ
धनगढीमा नकुहिने फोहोर वर्गीकरण गरेर बिक्री गरिँदै
पोखराको फोहोर व्यवस्थापनमा स्थानीयको अवरोध
दार्चुलाको स्थानीयले फोहोर नउठाएपछि फाले नगरपालिका कार्यालयभित्र फोहोर