नाबालिका अपहरणमा प्रेमी–प्रेमिका पक्राउ, नाबालिकाको सकुशल उद्धार

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, २० : ३२
नाबालिका अपहरणमा प्रेमी–प्रेमिका पक्राउ, नाबालिकाको सकुशल उद्धार

मोरङ । विराटनगरमा एक बालिका अपहरणमा संलग्न दुई जना पक्राउ परेका छन्। महानगरपालिकाको रोडशेष चौक क्षेत्रबाट अपहरणमा परेकी १ वर्षीया नाबालिका निकिशा यादवको अपहरणको आरोपमा प्रहरीले महानगर ५ की २७ वर्षीया अनु साह र महानगरपालिका ६ का २७ वर्षीय रवीन्द्रकुमार साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार बूढीगंगा गाउँपालिका–१ का दिपेन यादवको अपहरणमा परेकी छोरीलाई भारतको दरभंगाबाट सकुशल उद्धार गरेपछि साहद्वयलाई मंगलबार पक्राउ गरिएको थियो। अपहरणकार्यमा संलग्न प्रेमीप्रेमिका रहेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ।

साउन २ गते बिहान रोडशेष चोकबाट अपहरणमा परेकी नाबालिका यादवको खोजी कार्यलाई प्रहरी तीव्रता दिएको थियो।जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालयको रिटको संयुक्त टोलीले खोजी सुरु गरेको थियो।यादवको अपहरणको अनुसन्धानसँगै संयुक्त टोलीले सुरुमा रवीन्द्रलाई पक्राउ गरी अनुसन्धान फराकिलो बनाएको थियो।

यस क्रममा रवीन्द्रबाट अपहृत यादव भारतको दरभंगामा रहेको खुलेको थियो। त्यसैपछि प्रहरीको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहृत नाबालिका यादवको सकुशल उद्धार गर्न सफल भएको थियो।

यसक्रममा प्रहरीले घटनामा संलग्न रहेको जनाउँदै अनु साहलाई पनि पक्राउ गरेको थियो। पक्राउ परेकी अनु र नाबालिकाका बुवा दिपेनबीच केही महिनाअघि मात्र चिनजान भएको थियो।

चिनजानकै क्रममा अनुले पटक–पटक यादवकी छोरीलाई हेर्न मनलागेको जनाउँदै बोलाएकी थिइन्। यसक्रममा यादवले साउन २ गते विहान करिब ९ बजे रोडशेष चौक छोरीसहित पुगेका यादवलाई कुरामा भुलाएर अनु भाग्न सफल भएकी थिइन्।

प्रहरीको अनुसन्धानअनुसार यादवकी छोरी अपहरणका लागि रवीन्द्र र अनुले पूर्व योजना बनाएर रोडशेषमा बोलाएका थिए।यादवबाट छोरीलाई लुकाएर अनुले चोक नजिक पर्खिरहेका रवीन्द्रको मोटरसाइकल चढेर फरार भएका थिए।

मोटरसाइकलबाट दुवै जनाले सुनसरीको दुहबी हुँदै भन्टावारी, राजविराज पु¥याएका थिए। रवीन्द्रले राजविराजबाट भारतको कुनौलीतर्फ पठाएर विराटनगर फर्किएका थिए।अपहरणकारी दुवैलाई सार्वजनिक गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस