सहर व्यवस्थापनमा आचरण सुधारको खाँचो छ : मेयर शाह

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, २० : ४७
सहर व्यवस्थापनमा आचरण सुधारको खाँचो छ : मेयर शाह

काठमाडौं । ‘सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा ठूलो परिवर्तन आउन सक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।  आज महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीकाविच सम्पन्न भएको पूर्वाधार विकास समन्वय बैठकमा प्रमुख शाहले सहर व्यवस्थापनमा आचरण सुधारको खाँचो औंल्याएका हुन् । 

‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, विजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौँ । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ,’ बैठकमा प्रमुख शाहको भनाइ थियो । 

‘खानेपानी वितरणका लागि खनिएका वडा १३, १४, १५ र २६ का सडक कहिलेसम्ममा कालोपत्रे हुन्छन्? खानेपानीको पाइप विछ्याउन सहमति माग भइआएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ?’ बैठकमा प्रमुख शाहले, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरुलाई प्रश्न गरेका थिए ।  त्यस्तै विद्युत प्राधिकरणका अधिकारीलाई, वडा नं. ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, माली गाउँ, कालो पुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि छोडिएको सडक कहिलेसम्ममा पुनस्र्थापना हुन्छ? भन्ने प्रश्न गरेका थिए ।  यसरी सोधिएका प्रश्नसँगै प्रमुख शाहले महानगरअन्तर्गत गर्नु पर्ने काम तदरुकताका साथ गरिने जानकारी दिए ।  

बैठक उपप्रमुख सुनिता डंगोलले, सहरी विकासका काममा समन्वय होस्, अन्यौल नहोस भन्ने उद्देश्य राखेर यस प्रकारको बैठक आयोजना गरिएको बताइन् ।  बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले बैठकमा उठेका सवालहरु अभिलेखीकरण गरेर मन्त्रालय तथा सम्बद्ध कार्यालयमा पठाइने बताए ।  ‘यी विषयहरु नागरिकलाई जानकारी दिन प्रत्यक्ष प्रसारण गरेका छौँ । सबैको साझा प्रयत्नबाट एकीकृत विकासमा योगदान गरौँ ।’ पौड्यालको जोड थियो ।
 
बैठकमा सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत प्राधिकरणलगायत कार्यालयका अधिकारीहरुले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताए ।  पाइप तथा विजुलीका तार विछ्याउन खनिएका सडक पानी पर्न छोडेपछि कालोपत्रे हुने उनीहरुको भनाइ थियो । 

बैठकमा सडकको मापदण्ड र अहिलेको अवस्था, ट्राफिक व्यवस्थापनको व्यववहारिक र कानुनी पक्ष तथा प्रविधिजन्य सम्भावना, ढल सञ्जालको मर्मत तथा पुनस्र्थापनाको काम, चोकहरुको सुधार, इन्टरनेट सेवा प्रदायकहरुले टाँगेका तार व्यवस्थापन लगायतका विषयहरुमा छलफल भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस