पर्यटन पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर गर्नुपर्छः मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १५ : ५६
पर्यटन पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर गर्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौँ  । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्।

सोमबार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताए। पर्यटन मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थापन गर्नको लागि तत्काल गर्न सकिने र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर काम अगाडि बढाउने उल्लेख गरे।

उनले पर्यटन क्षेत्रको पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर मात्रै व्यवस्थित गर्न सकिने दाबी गरे। मन्त्री श्रेष्ठले तत्काल समयसापेक्ष ऐन नियमलाई संशोधन गरेर काम अगाडि बढाउने पनि तयारी भइरहेको बताए। उनले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन कानून निर्माण गर्न भने लागिपर्ने बताए।

उनले भने, ‘पर्यटन पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर नै गर्ने हो। हातेमालो गरेर नै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने हो। पर्यटन क्षेत्रमा देखिएका विकृतिका कुराहरु पनि सुन्नमा आएका छन्। मैले थाहा पाएअनुसार यो क्षेत्रमा धेरै विकृतिहरु बढ्न थालेको छ, जसले गर्दा हाम्रो इमेज खराब हुँदै गएको छ। यो विकृति नियन्त्रण गर्ने कुरामा पनि निजी क्षेत्रको सहयोगको आवश्यकता रहेको छ।’

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्न सुझाव दिए।

अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा ट्रेकिङ कम्पनीहरुको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने बताए।

यस्तै होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकता नराखेको गुनासो गरिन्। उनले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिता नपरेर सहुलियत तथा छुटसमेत नपाउँदा उद्योग धरासाही बनेको दाबी गरिन्।

अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरे मात्रै पर्यटन उद्योगलाई ठूलो सहयोग पुग्ने बताइन्।

त्यस्तै कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले पर्वतारोहण उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा स्थापना गर्न सुझाव दिए। उनले पर्वतारोहणसम्बन्धी सेवा सुविधाहरु एकद्वार प्रणालीमार्फत दिनुपर्ने बताए।

अध्यक्ष लामाले साहसिक विभिन्न खेलहरुको लागि हिमालय आरोहणसमेत खुल्ला गर्न माग गरे। उनले हिमाल आरोहण गर्दा ज्यान गुमाउनेको परिवारलाई कल्याणकारी कोष सञ्चालन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताए।

त्यस्तै, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटकको लागि काठमाडौँमा विगत लामो समयदेखि पर्यटक बसपार्कको अभाव भएकाले सरकारले पर्यटक बसपार्कको व्यवस्थापन तत्काल गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस