अर्थ मन्त्रालयले बजेट खर्च, रकमान्तर र कार्यक्रम संशोधनका लागि विभिन्न ७ वटा मापदण्ड तय

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १४ : ३९
अर्थ मन्त्रालयले बजेट खर्च, रकमान्तर र कार्यक्रम संशोधनका लागि विभिन्न ७ वटा मापदण्ड तय

काठमाडाैँ । अर्थ मन्त्रालयले बजेट खर्च, रकमान्तर र कार्यक्रम संशोधनका लागि विभिन्न ७ वटा मापदण्ड तय गरेको छ । मन्त्रालयले जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कुनै कार्यक्रम संशोधन गर्नुपर्ने भएमा उद्देश्यभन्दा फरक नपर्नेगरी कार्यक्रम संशोधन गर्न भनिएको छ। 

त्यसका लागि अर्थको स्वीकृति अनिवार्य हुने मार्गदर्शनमा भनिएको छ। तर, मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको कार्यक्रममा उल्लिखित क्रियाकलापको वार्षिक लक्ष्य नघट्ने गरी सरकारको स्रोततर्फ तोकिएको मापदण्ड अपनाएर संशोधन तथा रकमान्तर गर्नुपर्ने मार्गदर्शनमा भनिएको छ। 

यस्तै, आयोजना तथा कार्यक्रमको भौतिक प्रगति र गुणस्तर समेतका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउन पनि निर्देशन  दिएको छ। मार्गदर्शनमा पहिलो त्रैमासिक निकासा भुक्तानीको लागि भने भौतिक प्रगति आवश्यक नहुने उल्लेख गरिएको छ।

दोस्रो त्रैमासिक निकासा भुक्तानीका लागि ३० प्रतिशत र तेस्रो त्रैमासिक निकासा तथा भुक्तानीको लागि सो अवधिसम्मको कम्तीमा ५० प्रतिशत भौतिक प्रगति हुनुपर्ने भनिएको छ। 

यस्तै सडक निर्माणका लागि ठेक्का आह्वान गर्दा खानेपानी तथा ढल, विजुलीको पोल, तार व्यवस्थापन वा भूमिगत गर्ने समेतको काम एउटै प्याकेजमा समावेश गरी बोलपत्र आह्वान गरी कार्यन्वयन गराउन भनिएको छ।

प्रतिक्रिया दिनुहोस