एन्फा कार्यसमितिकाे बैठक स्थगित

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १३ : ५६
एन्फा कार्यसमितिकाे बैठक स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार)लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ ।

एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्काे सूचना निकालिने बताए।‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ। अब, बैठकको लागि अर्काे सूचना निकाल्छौँ’, राईले भने।

साधारणसभाले गत ६ असारमा नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो ३ बजे बस्ने तय थियो। तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक स्थगित गरेको हो।

पहिलो बैठक एजेन्डाबिना बोलाएर विवादास्पद नियुक्ति गरेपछि अहिले अध्यक्ष निकै दबाबमा छन्। आजको बैठकमा समेत केही एजेन्डामा अध्यक्ष अर्काे दबाबमा आएका थिए।

विभिन्न नियुक्तिले अहिले एन्फा राजनीतिमा पेचिलो बनेको छ। जसमा नेम्वाङ पूर्वअध्यक्ष गणेश थापा र विदेश विभाग प्रमुख नवीन पाण्डेको चर्काे दबाबमा पर्दै आएका छन्।

थापाले आफ्ना छोरा गौरव र पाण्डेले आफू निकट रहेका निर्वाचन समितिका सदस्य बद्रि भट्टराईलाई नियुक्त गर्न ठूलै दबाब दिँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस