देशमा नै पहिलोपटक नागढुंगामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

रासस

सोमबार, ०२ साउन २०७९, १० : ०१
देशमा नै पहिलोपटक नागढुंगामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा सवारीसाधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ ।

 उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन् ।

उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मशिन’ राख्न गृहकार्य शुरूआत गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ । 

नगर प्रमुख घनश्याम गिरीले भने, ‘काठमाडौं उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुंगामा ‘भेइकल  स्क्यानिङ मशिन’ राख्न जरुरी छ । प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारीसाधनको रेकर्ड राख्ने ’मशिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मशिनको करीब २ करोड ५० लाख पर्ने जनाइएको छ । 

उनका अनुसार मशिन खरिदका लागि नगरपालिकाले  उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वान समेत गरेको छ । नगर प्रमुख गिरीले भने, ‘यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन । यसबाट समग्र उपत्यकाको सबै पालिका एवं संघीय सरकारलाई समेत फाइदा पुर्‍याउँछ ।

यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ । सम्भव भए नगरपालिका आफैंले ‘भेइकल स्क्यानिङ मशिन’ खरिद गर्छ, नत्र अन्य उपाय अवलम्बन गर्छौं ।’

प्रतिक्रिया दिनुहोस