डुम्रे–बेंसीशहर सडक अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, ०९ : ४१
डुम्रे–बेंसीशहर सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिराले आइतवार रातिदेखि डुम्रे–बेंसीशहर सडक अवरुद्ध भएको छ । 

सडकअन्तर्गत बेंसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । वैकल्पिक सडकको रूपमा रहेको श्रीजंगगण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको भनाइ छ ।

लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ । मस्र्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करीब ३ मिटर सडक भासिएको प्रहरीले जनाएको छ । 

सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारीसाधन आवतजावत हुन सकेको छैन । डुम्रे बेंसीशहर सडक खण्डअन्तर्गत देउराली डाँडामा गत वर्ष समेत पहिरा गएपछि वैकल्पिकरूपमा सो स्थान नजिकै माथिबाट सडक सञ्चालन गरे पनि गत पहिरो हप्तामा आएको बाढी पहिराले उक्त सडकसमेत बगाएपछि उक्त सेनाको सडक हुँदै सवारी सञ्चालन हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस