काठमाडौंमा फोहोर उद्योग कारखाना

पत्रपत्रिकाबाट

सोमबार, ०२ साउन २०७९, ०८ : २३
काठमाडौंमा फोहोर उद्योग कारखाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला उद्योग स्थापना गर्न ६५ करोड बजेट छुट्याएको छ । महानगरको फोहोरबाट मललगायत अन्य वस्तु उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको उद्योग स्थापना गर्न लागिएको हो ।

कामपाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा फोहोरमैलासम्बन्धी आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपियाँ विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख छ । छपाइको क्रममा रहेको बजेट पुस्तिकाको ९ सय ३ बुँदामा यसको विवरण दिइएको छ ।

कामपाका सार्वजनिक निर्माण विभाग प्रमुख निर्देशक रामबहादुर थापाले तत्काल स्थान पहिचान गरी उद्योग स्थापना गर्ने तयारी भइरहेको बताए । उनका अनुसार कामपाले सहयोग गरेका उपत्यकाका नगरपालिकासँग उद्योग स्थापना गर्न खाली क्षेत्र उपलब्ध गराउन माग गरिएको छ ।

‘हामीलाई फोहोर उद्योग स्थापना गर्न आवश्यक पर्ने करिब ४० देखि ५० रोपनी जग्गा आवश्यक पर्छ । उक्त जग्गा खोज्न महानगरले छिमेकी नगरपालिकासँग आग्रह गरेको छ’, विभागीय प्रमुख थापाले भने, ‘जग्गा उपलब्ध भए दुईतीन महिनाभित्रै उद्योग स्थापना गरी उत्पादन शुरु गर्ने तयारी गरेका छौं ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।