त्रिवि परिसरमा जारी अनसनप्रति अन्य विद्यार्थी संगठनहरूकाे ऐक्‍यबद्धता

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १६ : १९
त्रिवि परिसरमा जारी अनसनप्रति अन्य विद्यार्थी संगठनहरूकाे ऐक्‍यबद्धता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा जारी आमरण अनसनप्रति सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले ऐक्यबद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्तलगायतका विद्यार्थीहरूले शुरू गरेको अनसनप्रति अन्य संगठनहरूले पनि ऐक्यबद्धता जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन, अखिल छैठौँलगायतका विद्यार्थी संगठनहरूले आइतवार विज्ञप्ति जारी गर्दै आमरण अनसनप्रति ऐक्यबद्धता जनाएका हुन् ।


ती विद्यार्थीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा विश्वविद्यालय प्रशासन समस्या समाधान गर्नु भन्दा बेथितिलाई संस्थागत गर्न मै उद्धत देखिएको आरोप लगाइएको छ । ‘विश्वविद्यालयको जिम्मेवारी लिएका उपकुलपतिलगायतका पदाधिकारी विश्वविद्यालय र विद्यार्थीहरूका समस्याप्रति उदासीन र लाचार हुनुले विश्वविद्यालयको सम्पूर्ण साख र गरिमा माथि नै प्रश्न उठाएको छ’, विज्ञप्तिमा भनिएको छ । उनीहरूले अनसनरत विद्यार्थी नेताहरूको जीवन रक्षाको माग पनि गरेका छन् ।नेकपा एसनिकट विद्यार्थी नेताहरू त्रिभुवन विश्वविद्यालयमा देखिएको बेथिति सुधारको माग गर्दै ६ दिनदेखि आमरण अनसनमा बसिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस