चलनचल्तीको बाटो घटाउने निर्णय विरुद्ध जागे गौचरनवासी

सोमबार, २१ जेठ २०७५, १७ : ४०
चलनचल्तीको बाटो घटाउने निर्णय विरुद्ध जागे गौचरनवासी

चितवन । चलनचल्तीको बाटो घटाएर महानगरको नीति विपरीत चार मिटरमात्रै बनाउने वडा अध्यक्षको गलत निर्णय सच्याउन निरन्तर दबाव दिइरहेका जगतपुर गौचरनका बासिन्दाले अभियानलाई संस्थागत बनाउँदै संगठित भएका छन् । 
भरतपुर महानगरपालिका वडा नम्बर– २३, गौचरनका वासिन्दाले गौचरन संरक्षण तथा बाटो निर्माण पहल समिति गठन गरेका छन् । स्थानीय वासिन्दाहरुको भेलाले शिवकान्त चालिसेको संयोजकत्वमा नौ सदस्यीय गौचरन संरक्षण तथा बाटो निर्माण पहल समिति गठन गरेको हो । समितिमा कवि श्रेष्ठ, शोभाखर पौडेल, सकुन्तला अधिकारी, माया आचार्य, सुमन गिरी, अन्जु चालिसे, विनोद शर्मा घिमिरे र यमनाथ गिरी रहेका छन् ।
समितिले चलनचल्तीको बाटो कायम गरी स्तर उन्नति गर्न सम्बन्धित निकायहरुमा निरन्तर पहल जारी राख्ने संयोजक शिवकान्त चालिसेले बताउनु भयो । विगतमा विभिन्न नाममा गौचरन अतिक्रमण गर्ने तथा मास्ने प्रयास हुँदासमेत आफूहरुले त्यसको प्रतिकार गरी संरक्षण गर्दै आएको जानकारी दिँदै संयोजक चालिसेले अब गौचरनको दिगो संरक्षण गरी खेलकुद मैदानको रुपमा विकास गर्नका लागि वडा कार्यालय र भरतपुर महानगरपालिकासँग माग गरिएको बताउनु भयो ।
गौचरनको दश मिटरभन्दा बढी चौडाई रहेको यो क्षेत्रको पुरानो बाटो चार मिटरमात्रै कायम गर्ने गरी वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेलले हालै निर्णय गराउनु भएको थियो । जगतपुरको खड्गौली चोकदेखि गौचरन हुँदै जाने यो बाटो १० मिटरभन्दा बढी चौडाइको छ । निजी सवारी साधन र सार्वजनिक बस गुड्ने यो बाटो विगतमा स्थानीय निकायले मर्मत सम्भार गर्दै आएको बाटो हो । 
स्थानीय वासिन्दाको अनुपस्थिति र असहमतिमा वडा अध्यक्ष पौडेलले गत वैशाख १२ गते गौचरन क्षेत्रको बाटो चार मिटरमात्रै कायम गर्ने निर्णय गराउनु भएको थियो । त्यस निर्णयप्रति स्थानीयले गम्भीर आपत्ति र असहमति जनाउँदै वडा कार्यालयमा ज्ञापनपत्र बुझाइसकेका छन् ।
वडा कार्यालयले सोही निर्णयलाई कार्यान्वयनमा अगाडि बढाउने तयारी गरेपछि स्थानीयले वडा अध्यक्ष पौडेललाई ज्ञापनपत्र बुझाउँदै चलनचल्तीको फराकिलो बाटोलाई नै कायम गर्न माग गरेका थिए । ज्ञापनपत्रमा महानगरपालिकाले भित्री बाटोसमेत कम्तीमा ६ मिटर कायम गराइरहेको अवस्थामा स्वयम् वडा अध्यक्षले चार मिटर बाटो कायम गर्ने गरी गरेको निर्णयले महानगरपालिकाकै ऐन, नियमको समेत बर्खिलाप गरेको, प्रमुख बाटो भएकोले १० मिटरभन्दा कम कायम गर्नु कुनै पनि हिसाबले न्यायोचित र व्यवहारिक नभएको उल्लेख गरिएको थियो ।
“चलनचल्तीमा रहेको मुख्य बाटोलाई खुम्च्याएर महानगरपालिकाको नियम र यस क्षेत्रको आवश्यकताभन्दा सानो बनाउने वडा अध्यक्षको निर्णय गैरजिम्मेवारीपूर्ण र हास्यास्पद छ” समिति सदस्य सकुन्तला अधिकारी भन्नुहुन्छ, स्थानीय वासिन्दाको सहमति नभई व्यक्तिगत मनोमानी लाद्ने वडा अध्यक्षको यस्तो निरङ्कुश कार्यशैली हामीहरुलाई कदापी स्वीकार्य छैन ।
चलनचल्तीमा रहेको फराकिलो बाटोलाई महानगरपालिकाको नीति, नियमलाई लत्याउँदै साँघुरो बनाउने कार्यले आफूहरु स्तब्ध भएको र यो निर्णयलाई कार्यान्वयन गर्नु एउटा गल्तीमाथि झन् अर्को ठूलो गल्ती हुने भएकोले समयमै वडा अध्यक्ष पौडेललाई सचेत गराइएको समितिका संयोजक चालिसेले बताउनु भयो ।
जगतपुरको कदम आधारभूत विद्यालय रहेको खड्गौली चोकदेखि गौचरनको सोही मूल बाटोले जगतपुरलाई केरुङ्गा खोलाको पुलबाट वडा नम्बर २४ हुँदै त्यस वरपरको क्षेत्र तथा मेघौलीसम्म जोडेको छ । त्यस क्षेत्रमा मानव बस्तीको विकास भएदेखि नै धेरै वर्ष अगाडिदेखि यो बाटो चलनचल्तीमा रहेको स्थानीयले बताएका छन् ।
बाटोको स्तर उन्नति गरी कालोपत्रे गर्न वडा कार्यालय तथा जनप्रतिनिधिहरुलाई आफूहरुले पटक पटक आग्रह गर्दै आएको स्थानीय ऋषिराम पौडेलले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘स्थानीय तहमा जनप्रतिनिधि आएको वर्षदिन बित्दासमेत चलनचल्तीको यति महत्त्वपूर्ण बाटो कायम गरी स्तर उन्नति गर्ने विषय त परै जाओस्, चलनचल्तीको बाटोलाई थुनछेक गरेर बाटो नै साँघुरो बनाउने गरी वडा अध्यक्षले गराउनु भएको निर्णयप्रति हामी यस क्षेत्रका वासिन्दाको गम्भीर आपत्ति र असहमति रहेको छ ।’
सदिऔँदेखि चलनचल्तीमा रहेको बाटोलाई कायम गरी स्तर उन्नति गर्नैपर्ने विषयमा हाल भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडा अध्यक्ष रहेका नरिनारायण पौडेल तथा सबै उम्मेदवारहरुले गत स्थानीय तह निर्वाचनमा प्रतिबद्धतासमेत जाहेर गरेको स्थानीय वासिन्दाहरु बताउँछन् । पहल समितिका सदस्य यमनाथ गिरी भन्नुहुन्छ, ‘निर्वाचन अघि वडा अध्यक्ष पौडेलले यहाँका वासिन्दाको बीचमा गएर चलन चल्तीको बाटोलाई कायम गरी स्तर उन्नति गर्ने प्रतिवद्धता जनाउनु भएको थियो, उहाँले अहिले एकाएक किन यस्तो निर्णय गर्नुभयो ? भन्ने विषयले हामी अचम्मित मात्रै भएका छैनौँ, झस्किएका पनि छौँ ।’
विगतमा चितवन जिल्लाको नापी हुँदा गौचरन रहेका क्षेत्रमा चलनचल्तीको बाटोलाई कतै पनि बाटो कायम गरी अलग्गै छुट्याउने गरिएको थिएन । अहिले विभिन्न ठाउँमा बाटो निर्माण तथा स्तर उन्नति गरिँदा चलनचल्तीमा रहेका बाटोलाई कायम गरी स्तर उन्नति गरिँदै आएकोमा भरतपुर–२३ का वडा अध्यक्ष पौडेलले भने आफैले किचलो झिकेको भन्दै समितिका सदस्य शोभाखर पौडेलले चार मिटरमात्रै बाटो कायम गर्ने गरी गरिएको निर्णय सच्याउन र हाल चलनचल्तीमा रहेको बाटो कायम गर्नुपर्ने माग महानगरपालिका प्रमुख रेनु दाहालसमक्ष राखिएको र सकारात्मक आश्वासन पाएको बताउनु भयो । 
भरतपुर महानगरपालिकाबाट यो बाटो कालोपत्रे गर्नका लागि विनियोजन गरिएको रकम र योजना अनुरुप स्थानीय उपभोक्ताहरुको समेत पूर्ण सहभागितामा पारदर्शी रुपमा बाटोको स्तर उन्नति गरी तुरुन्त पीच बाटो निर्माण कार्य अगाडि बढाउन स्थानीयले माग गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस