आजदेखि नयाँ आर्थिक वर्ष शुरु : के के आउने छन् कार्यान्वयनमा ?

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, ०७ : ३७
आजदेखि नयाँ आर्थिक वर्ष शुरु : के के आउने छन् कार्यान्वयनमा ?

काठमाडौं । आइतबारदेखि आर्थिक वर्ष २०७९÷०८० को बजेट कार्यान्वयनमा आएको छ । नेपालमा हरेक साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने गर्छ ।  आर्थिक वर्ष २०७९–०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन भएको छ । यो बजेट गत वर्षको भन्दा १ खर्ब ६१ अर्ब रुपैयाँले बढी हो ।

गत वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । कुल विनियोजनमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात ४२ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यसैगरी, पुँजीगत खर्चतर्फ ३ खर्ब ० अर्ब ३ करोड अर्थात २१.२ प्रतिशत विनियोजन भएको छ । 

वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत विनियोजन भएको छ ।  त्यसैगरी, प्रदेश तथा स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत रहेको छ । यस आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोततर्फ राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र बैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुनेछ । 

उक्त न्यून हुने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने र राजश्व परिचालन, वैदेशिक अनुदान र ऋण परिचालन गर्दा नपुग हुने २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट बेहोर्ने सरकारको भनाइ छ । गत जेठ १५ मा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस