मतदातालाई धन्यवाद दिन प्रचण्ड पुन घरदैलोमा (फोटोफिचर)

मंगलबार, २६ मंसिर २०७४, १८ : ०३
मतदातालाई धन्यवाद दिन प्रचण्ड पुन घरदैलोमा (फोटोफिचर)


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो सुरू गरेका छन् ।
वाम गठबन्धनबाट उम्मेदवार प्रचण्डले ९ हजार ३४१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई पराजित गरेका हुन् । प्रचण्डले ४८ हजार २७५ मत प्राप्त गर्दा पाण्डेले ३८ हजार ९४२ मत प्राप्त गरेका हुन् । बहालवाला वनमन्त्रीसमेत रहेका पाण्डेलाई कांग्रेसले समर्थन गरेको थियो ।


आफ्ना प्रतिस्पर्धी प्रचण्ड विजयी भएपछि पाण्डेले भेटेरै बधाई दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा पराजितमध्ये पाण्डेमात्र कार्यक्रममा उपस्थित भएका थिए ।


आफूलाई मत लिएर विजयी गराउने मतदातालाई भेट गरी आभार प्रकट गर्न उनले भरतपुर–१५, शिवनगरस्थित निवासबाट घरदैलो अभियानमा जुटेका हुन् । उनी फूलवारी, मंगलपुर, रामपुर, चनौली, ज्योतिनगर, गोलाघाट, गुञ्जानगर, पर्साढाप, लेबरनगर, शुक्रनगर, पार्वतीपुर हुँदै लाहुरेचोकमा समापन हुने निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदी ‘पथिक’ले जनाएका छन् ।


उनले सडकबाटै मतदातालाई धन्यवाद दिएका छन् । बुधबार पनि उनी घरदैलो कार्यक्रममै व्यस्त रहने सुवेदीले बताएका छन् । उनी क्षेत्र नं ३ कै माडी उपत्यका र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हुँदै केन्द्रीय बसपार्कमा समापन हुनेछ ।

निर्वाचनअघि भावी प्रधानमन्त्री वा राष्ट्रपति हुने भन्दै उनीे चुनावी कार्यक्रममा सरिक भएका थिए । हेभीवेट उम्मेदवार भएका कारण पश्चिम चितवनको विकासका लागि प्रचण्डलाई धेरै मतदाताले मत दिएका थिए । उनका समर्थकहरुले फूलमाला र घडा राखेर स्वागत तथा सम्मान गरेका थिए । प्रचण्डसँगै वाम गठबन्धनका तर्फबाट प्रदेश ९क० मा विजयी एमालेका कृष्ण भूर्तेल र प्रदेश ९ख०बाट माओवादी केन्द्रबाट विजयी रामलाल महतो घरदैलोमा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस