मुलुककाे आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ: मन्त्री बडू

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १२ : ३८
मुलुककाे आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ: मन्त्री बडू

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन्।

बुधवार काठमाडौँमा भएको निर्यात प्रवर्द्धनका लागि नवनियुक्त राजदूत र नियार्त व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताएका हुन्।

उनले सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरू भने भइरहेको बताए। मन्त्री बडूले व्यापार घाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे।

उनले भने, ‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ। आयात बढिरहेको छ। अपेक्षाअनुसार निर्यात बढ्न सकेको छैन। प्रयत्नहरू धेरै भइरहेको छ। व्यापारघाटा बढ्दो अवस्थामा छ। यो अवस्थालाई ध्यानमा राखेर अहिले मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको छ। यतिबेला सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमार्फत पनि यही अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने, सक्दो प्रतिस्थापन पनि गर्ने, निर्यातलाई प्रवर्द्धन गर्ने र विदेशी लगानी बढीभन्दा बढी आओस् भनेर भन्ने उद्देश्यले केही नीतिगत कार्यक्रमगत निर्णयहरू हामीले गरेका छौँ। राष्ट्रिय उत्पादकहरु बढाउने र विशेष रूपले अभियानका रुपमा तयारीमा लागेका छौँ। राष्ट्रिय उत्पादन र उपभोग बढाउन सक्यौँ भने आयातलाई केही व्यवस्थापन गर्नसक्छौँ।’

मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस