निशा बनिन् ओईसीसी मिस एसईई स्टार चितवन २०१८

आइतबार, २० जेठ २०७५, १८ : ३८
निशा बनिन् ओईसीसी मिस एसईई स्टार चितवन २०१८


भरतपुर । ओईसीसी मिस एसईई स्टार चितवन २०१८ को उपाधि नारायणी नमूना मा.वि. भरतपुर अध्ययनरत निशा खत्रीले जितेकी छन् । लिभ एण्ड लिड इन्टरनेशनलले कायाकैरन मिडिया नेटवर्कसँगको सहकार्य र नेपाल डायरिजको व्यवस्थापनमा गरेको प्रतियोगिताको शुक्रबार बेलुकि भएको फाइनलमा २५ फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले ताज पहिरिएकी हुन् ।
भरतपुर–२ क्षेत्रपुरकी खत्रीले उपाधिसँगै नगद ५० हजार रुपैयाँसँगै अक्सफोर्ड कलेज गैंडाकोटमा कक्षा ११ अध्ययन गर्न पूर्ण छात्रवृत्ति पाउने भएकी छन् । स्त्री तथा प्रसूती चिकित्सक बन्ने सपना लिएकी खत्री कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न चाहन्छिन् । चितवनलाई बालश्रममुक्त बनाउने अभियानमा सक्रिय हुने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।

नेपाली चलचित्रका सुपरस्टार नायक राजेश हमालको प्रमुख आतिथ्यमा गैंडाकोटको नारायणी रिसोर्टमा भएको फाइनल प्रतिस्पर्धामा टप टेन र टप फाइभ हुँदै विजेता घोषणा गरिएको थियो । टप फाइभलाई मुख्य निर्णायक अक्सफोर्ड कलेजका प्रिन्सिपल ईञ्जिनियर हरि भण्डारीले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिएर खत्री ओईसीसी मिस एसईई स्टार चितवन २०१८ बनेकी हुन् । टप फाइभलाई ‘तपाईंले उच्च शिक्षा अध्ययन गर्न चाहनुभएको विषयमा मौका पाउनुभएन भने त्यो समस्यालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?’ भनी प्रश्न गरिएको थियो । खत्रीले मिस फ्रेण्डसिपको उपाधि पनि जितिन् ।


प्रतियोगितामा पूर्वी चितवन भण्डारास्थित ग्लोसाइन एकेडेमीकी शीर्षक भण्डारी फस्र्ट रनर अप भइन् । उनले नगद ३० हजार र अक्सफोर्डमै कक्षा ११ को पूर्ण छात्रवृत्ति पाउने छिन् । सेकेण्ड रनर अप बनेकी ज्ञानदर्शन स्कूल पढ्ने भरतपुर–११ की ऋतिका रानाभाटले २० हजार पाइन् । ऋतिकाले मिस मल्टिमिडिया र बेस्ट क्याटवाक सबटाइटल पनि जितिन् । उनले पनि अक्सफोर्डमा ७५ प्रतिशत छात्रवृत्ति पाउने छिन् । थर्ड रनरअप, बेष्ट स्माइल र मिस पर्सनालिटी उपाधि जितेकी रत्ननगरको न्यू स्पीडी स्कूलकी स्मृति रानाभाट र फोर्थ रनरअप बनेकी ग्रीनल्याण्ड पब्लिक स्कूल भरतपुर–१२ की शिवानी परियारले अक्सफोर्डमा ५० प्रतिशत छात्रवृत्ति पाउने कार्यक्रम संयोजक अनिस तामाङले जानकारी दिए ।

सहभागीमध्ये वविता तामाङले मिस पपुलर च्वाइस, बेष्ट पर्फमेन्स र मिस ट्यालेण्टको उपाधि हात पारिन् । त्यस्तै मिस डिसिप्लिन रिया श्रेष्ठ, मिस फोटोजेनिक र बेष्ट स्टायलिस ड्रेस सजिता न्यौपाने, बेष्ट अफिसियल ड्रेस डिजाइनर इन्टरनेसनल फेसन कलेजकी समीक्षा रेग्मी र बेष्ट ड्रेस कलेक्सन स्रष्ठाका डिजाइनर समन प्रजापति भएको इभेन्ट म्यानेजमेन्ट संस्था नेपाल डायरिजका प्रबन्ध निर्देशक विनेश थापाले जानकारी दिए । सब टाइटल जितेका सबैलाई अक्सफोर्डले जनही ३० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ ।
गत बैशाख ३ र ४ गते गरिएको अडिसनमा सहभागी ८७ जनामध्येबाट फाइनल प्रतिस्पर्धामा २६ जना छनोट गरिएको सञ्चार संयोजक अनिल घिमिरेले जानकारी दिए । फाइनल प्रतिस्पर्धा कायाकैरन मिडिया नेटवर्कका निर्देशक विनोदबाबु रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस