ट्विटर नकिन्ने भएपछि एलन मस्क विरुद्ध मुद्दा

एजेन्सी

सोमबार, २७ असार २०७९, ११ : ४८
ट्विटर नकिन्ने भएपछि एलन मस्क विरुद्ध मुद्दा

एजेन्सी । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्विटर कम्पनी खरिद नगर्ने घोषणा गरेपछि ट्विटरले उनीविरुद्ध मुद्दा हाल्ने  भएको छ । मस्कले  आफूलाई एक पत्र पठाउँदै ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौता भंग गरेको ट्विटरले बताएको छ । 

शुक्रबार मस्कको टिमले ट्विटरलाई लेखेको पत्रमा ट्विटरले सम्झौता विभिन्न प्रावधानहरूको भौतिक उल्लंघन गरेको हुँदा खरिद सम्झौताबाट पछि हट्ने निर्णय गरिएको दाबी गरिएको छ ।

मस्कले ट्विटरमा रहेका फेक अकाउन्टहरूको बारेमा प्रष्ट जानकारी मागेकोमा  ट्विटरले त्यसको डाटा उपलब्ध  गराउन नसकेकाले सम्झौता भंग  भएको बताइएको छ ।

केही समयअघि एलन मस्कले ट्विटरमा २० प्रतिशत फेक तथा स्पाम अकाउन्ट भएको दाबी गरेका थिए । जबकि, यो संख्या ट्विटरले दाबी गरेको ५ प्रतिशतभन्दा ४ गुणा धेरै हो ।

ट्विटरले फेक तथा स्पाम अकाउन्टको यथार्थ विवरण नदिएमा कम्पनी खरिद नगर्ने मस्कले लामो समयदेखि बताउँदै आएका थिए । मस्कको एकतर्फी रुपमा सम्झौता भंग गर्ने निर्णयविरुद्धमा ट्वीटर कम्पनीले अदालत जाने भएको हो ।

प्रतिक्रिया दिनुहोस