मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छ: गभर्नर अधिकारी

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, ११ : ३१
मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छ: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि लक्ष्य भन्दा माथि गएको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताएका छन ।

संसदको अर्थ समितिले गरेको मौद्रिक नीति सम्बन्धि छलफलमा सहभागी हुँदै गभर्नर अधिकारीले चालूआर्थिक वर्षमा मुद्रा स्फितिलाई साँढे ६ प्रतिशतमा कायम राख्ने लक्ष्य लिएकोमा मुद्रास्फिति लक्ष्य भन्दा माथि गएको बताए । मूल्य वृद्धि यो भन्दा माथि जान नदिन ब्याजदर बढाउनुपर्ने उनको तर्क थियो । विकसित मुलुकहरूमा पनि यो वर्ष मुद्रास्फिति ५ दशमलव ७ प्रतिशत पुग्ने अनुमान रहेको बताउदै नेपालमा पनि मूल्यवृद्धि सीमाभित्र राख्न कठिन भएको उनले बताए।

विकसित देशहरूले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने र कोभिडको समयमा दिएका सहुलियत हटाउँदै गएको भन्दै उनले नेपालमा पनि त्यही गर्नुपर्नेमा जोड दिए । चालू आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चिति घटेको र ६ महिनाको आयात धान्न सकिने अवस्था रहेकाले स्थिति ज्यादै नराम्रो भयो भन्ने अवस्था नरहेको अधिकारीको तर्क छ। नेपाली रूपैयाँको अवमूल्यन हुँदा पनि डलर सञ्चितिमा दवाव परेको उनले बताए।

देशको वर्तमान अवस्था अनुसारकै मौद्रिक नीति ल्याउने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस