प्रेस युनियनको केन्द्रीय अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १९ : ४३
प्रेस युनियनको केन्द्रीय अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

चितवन  । नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा दीपक आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । प्रेस युनियन चितवनको कार्यालयमा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत आचार्यले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

आचार्य वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् । युनियनको चितवनले शाखाले पनि आचार्यलाई केन्द्रीय अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ । उम्मेदवारी घोषणा गर्दै आचार्यले पत्रकारहरुको हक हितको मुद्दालाई प्राथमिकता राख्ने प्रतिवद्धता जनाए ।

मिडिया र पत्रकारहरुलाई बचाई राख्न बिभिन्न किसिमका तालिम, गोष्ठी, पत्रकारलाई पेन्सन, बीमा, मिडियालाई विज्ञापन जस्ता सुविधाका लागि काम गर्ने उनले बताए ।

आचार्यले कोरोना संक्रमण न्यूनिकरणमा ठूलो भूमिका खेलेका पत्रकार तथा सञ्चार माध्यमहरुलाई संघीय सरकार र स्थानीय निकायहरुले सहयोग गर्नु पर्ने बताए। उनले युनियनको आसन्न निर्वाचनमा मिडियामैत्री कानुन र पत्रकारहरुको हक हितको मुद्दामा केन्द्रित रहने समेत बताए ।

उमेदवारी घोषणा सभामा यूनियनका केन्द्रीय सदस्य बसन्त पराजुली र चितवन शाखा अध्यक्ष अनिल ढकालले आचार्यलाई जिताउन लागि सबै जिल्ला शाखा र मतदाताहरुलाई संस्थागत पहल गरिने बताए । उम्मेदवारी घोषणा कार्यक्रमा युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार संघ, मिडिया सेन्टरलगायतका आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।युनियनको नवौं महाधिवेशन साउन ६ र ७ गते हेटौंडामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस