एन्फा र एनएसएलबीचको सम्झौता रद्द गर्न सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १७ : २६
एन्फा र एनएसएलबीचको सम्झौता रद्द गर्न सिफारिस

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल)सँग गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ ।  शुक्रबार बसेको ‘ए’ डिभिजन क्लबका असन्तुष्ट चार क्लब र एन्फा पदाधिकारीको बैठकले नेपाल स्पोर्टस् इभेन्टस् एण्ड म्यानेजमेन्ट कम्पनीबीच प्रतियोगिता गर्न भएको सम्झौता रद्द गर्न कार्यसमितिको आगामी बैठकमा सिफारिस गर्ने निर्णय गरेको हो । 

‘क्लबसँगको बैठकले अघिल्लो कार्यमितिले गरेको निर्णयलाई रद्द गर्न सिफारिस भएको छ,' सर्वाधिक मतसहित एन्फा उपाध्यक्षमा निर्वाचित भएका दावा लामाले  भने । यसअघि भएको सम्झौतामा मापदण्ड पूरा गरे एनएसएलको टिमलाई एएफसी तथा फिफाको प्रतियोगितामा सहभागी हुन दिनुपर्ने थियो । जुन विषयले विवाद लिँदा एनएसएलको दोस्रो संस्करण स्थगित भएको छ । 

तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले चौधरी ग्रुपअन्तर्गत रहेको एनएसएलसँग सो सम्झौता गरेका थिए । तर, ६ असारमा सम्पन्न चुनावमा निर्वाचित पंकजविक्रम नेम्बाङ समूहले मुख्य मुद्दा नै एनएसएललाई बनाएको थियो । यस समूहले एनएसएललाई ‘गोल्डकप’ को रुपमा आयोजना गर्नुपर्ने बताउँदै आएको थियो । 

एन्फाले एनएसएल आयोजनाको शैलीमाथि चर्को विरोध जनाउँदै आएका सहिद स्मारक ए डिभिजन लिगका चार क्लबहरू (थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) बैठकमा बोलाएको थियो ।

एन्फा मुख्यालयमा भएको बैठकमा भने अध्यक्ष नेम्बाङको उपस्थिति थिएन । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का(बच्चु)को  अध्यक्षमा बसेको बैठकमा उपाध्यक्ष दीपक खतिवडा, उपाध्यक्ष दावासँगै सदस्यद्वय महेन्द्र क्षेत्री र सरिला श्रेष्ठको सहभागिता थियो । यस्तै महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशी पनि सहभागी थिए । 

यद्यपि, एन्फाको अघिल्लो कार्यसमितिले आगामी २५ भदौदेखि १० कात्तिकसम्म  प्रतियोगिता गराउन समय उपलब्ध गराइसकेको छ । शुक्रबार नै एन्फा पदाधिकारीले एनएसएल आयोजकसँग बैठक बस्दैछ । 

प्रतिक्रिया दिनुहोस