रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १९ : ३२
रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । यसअघि विधेयकमाथिको छफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले विदेशीले सोझै सञ्चालन गर्न दिने सरकारको नियत नभएको र प्रचलित कानुनको आधारमा विदेशी वा निजी कम्पनीसँग सहयोग लिन सकिने बताए । 

देशको सार्वभौमसत्ता धुमिल नहुने गरी काम गर्न र कानुनको परिपालनामा मन्त्रालय सजग रहेको उनको भनाइ छ । हाल जनकपुर–जयनगर रेल सञ्चालनमा आइसकेकाले पनि ऐन आवश्यक रहेको उनले बताए । 

उनले भने, “ऐन ल्याउन नसक्दा रेल सेवा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ ।” विधेयक यही असार १७ गते राष्ट्रियसभाबाट पारित भएको थियो । विधेयकमाथिको छलफलमा सांसदहरू दिव्यमणिराज भण्डारी, भीमबहादुर रावल, सरिताकुमारी गिरी, प्रेम सुवालले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस