अर्थमन्त्री शर्माले राजीनामा नदिए सरकारले कारबाही गर्नुपर्छ : शरदसिंह भण्डारी

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १८ : ५९
अर्थमन्त्री शर्माले राजीनामा नदिए सरकारले कारबाही गर्नुपर्छ : शरदसिंह भण्डारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पद त्याग्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले जनतामा आलोचित विषय गर्नेले नैतिकताको आधारमा तत्काल पद त्याग्नुपर्ने बताएका हुन् ।

उनले अर्थमन्त्री शर्माले तत्काल मन्त्री पद छोड्नुपर्ने बताइ । शर्माले पद नछोेडेमा सरकारले कारबाही गर्नुपर्ने उनको भनाइ छ । सांसद भण्डारीले जनतलाई राज्यप्रति अविश्वास हुने गतिविधि गर्नु नहुने बताए ।

उनले भने, ‘जनतामा आलोचित विषयमा, मूल्य मान्यताको बिरुद्धमा जुन कुराहरु आएका छन् त्यो विषयमा तत्काल नैतिकताको आधारमा त्यसले छोड्नुपर्दछ । यदी छोडेन भने तत्काल सरकारले कारबाही गर्नुपर्दछ । यो विषयमा म अन्त्यन्त गम्भिरतापूर्वक सरकारको ध्यानाकर्षण गराउँदछु । नेपाली जनतालाई राज्यप्रति अविश्वास हुने र राज्यप्रति अनादर हुनेगरी यस्तो खालको कुरा हुनुहुँदैन । यो विषयमा अर्थमन्त्रीले तत्काल छोड्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

उनले थपे, ‘नागरिकता विधेयक विशेषगरी हाम्रो दलको आन्दोलनको मुख्य विषय हो । हामीले यो सरकारलाई, प्रधानमन्त्रीलाई समर्थन गरेको बेलामा पनि यो विषयलाई हामीले टड्कारो रुपमा राखेका थियौँ । केही दिनअघि प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन पत्र दिएका थियौँ । ज्ञापन पत्रमा पनि हामीले यो विषयलाई जोड गरेका थियौँ । बारम्बार प्रधानमन्त्रीबाट यो कुराको आश्वासन आउँदै आएको थियो ।’

उनले नागरिकता विधेयक संसदबाट छिटोभन्दा छिटो पारित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस