महोत्तरी । गत भदौं २३ र २४ को जनेजी आन्दोलनले राजनीतिमा अब पुस्तान्तरण माग ग¥यो । तर केही यस्ता नेता पनि छन्, जसले जीवनमा पाउनुपर्ने सबै कुरा पाईसक्दाप नि अरुका लागि ठाँउ छोडने कल्पनासम्म गर्न सक्दैनन् ।
यस्तै मध्येका एक नेता हुन्, जसपा नेपालका नेता शरदसिंह भण्डारी । उनले राजनीतिमा लागेर पाउनुपर्ने जति सबै पाईसकेका छन् । ४४ वर्ष यताका हरेक निर्वाचनमा उनी उम्मेदवार छन् ।
६ पटक चुनाव जितेका छन्, तीन पटक पराजित । संसदमा पुगेपछि नै उनले पटक पटक गरेर बीस पटक मन्त्री भईसकेका छन् । उनले राजनीतिमा प्रवेश गरेपछि बनेका प्रधानमन्त्री प्रायसँग उनले क्याबिनेटमा बसेर काम गरेका छन् । तर पनि उनको चुनाव लड्ने, मन्त्री बन्ने भोक मेटिएको छैन ।
चुनाव जितेर नयाा गर्ने के हो ? मन्त्री भएर अब चँही गर्न बाँकी के हो ? त्यसको कुनै फेहरिस्त जवाफ उनीसँग छैन । तर पनि उनी २०३८ साल यताका हरेक जसो निर्वाचनमा उम्मेदवार बनेका छन् । कहिले कुन पार्टी कहिले कुन पार्टीका रुपमा उनी उम्मेदवार बनेर चुनावी मैदानमा भिँडेकै छन् ।
४४ वर्षयता निरन्तर चुनावमा
२०३८ साल यता नेपालमा संसदीय चुनाव दशौं पटक हुन लागेको छ । २०६४ र २०७० को संविधानसभा चुनाव पनि संसदीय भूमिका समेत निर्वाह गर्ने गरी नै भएको चुनाव थियो । अहिले फागुन २१ मा हुन लागेको चुनावसम्म आईपुग्दा २०३८ सालदेखि यता १० पटक संसदीय चुनाव हुन लागेको छ ।
यी सबै चुनावमा सरदसिंह भण्डारी भिँडेका छन् । उनी अहिले पनि महोत्तरी २ बाट चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टी (जसपा)को छाता चुनाव चिन्ह्र लिएर चुनावी मैदानमा उत्रेका उनीसँग यसपटक अन्य ३६ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्न लागेका छन् । एमालेबाट कसिफ नदाफ, नेपाली कांग्रेसबाट किरण यादव, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट लक्ष्मन कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दीपक कुमार साह, राप्रपाबाट रामलखन साह कानु, जनमत पार्टीबाट जयकुमार पाण्डेयलगायत उम्मेदवार छन्।
यी उम्मेदवारमध्ये अधिकांश नयाँ अनुहारका उम्मेदवार छन् । तर भण्डारी आँफु अब नयाँ पुस्तालाई छोडनुपर्छ भन्नेमा अहिलेसम्म देखिन तयार भएनन् । उमेरले उनी ७१ वर्ष पुगिसके । अब नयाँलाई छोडनुपर्छ भन्ने जनआवाज उठ्न थालेपछि भने भण्डारीले यसपटक आफनो चुनावी भिडन्त अन्तिम हुने भन्दै मतदातासँग भावनात्मक अपिल गरिरहेका छन्।
लगातार चुनाव भिडिरहेकाले महोत्तरी २ मा उनीसँग ब्यीक्तगत मत नै पनि छ । गत चुनावमा उनी लोकतानित्रक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार थिए । त्यसबेला उनले प्रतिस्पर्धी भन्दा १४ हजार ७० मतको फराकिलो जित निकालेका थिए ।
यसपटक लोसपा र जसपा एकता भएकोले पनि उनले आफनो जित झन् सहज भएको बताउँछन् । उनले २०३८ र २०४३ सालमा पञ्चायति ब्यवस्थाभित्रै राष्ट्रिय पञ्चायतको चुनाव लडेका थिए । यी दुवै चुनाव उनले जितेका थिए । त्यस्तै बहुदलपछि २०४८ को चुनावमा उनी महोत्तरी ५ बाट चुनाव लडेका थिए । तर त्यो चुनाव भने उनले जित्न सकेनन् । २०५१ को मध्यावधी निर्वाचनमा जाँदा उनीसँग चुनाव लड्ने पार्टी समेत थिएन । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।
त्यो चुनाव स्वतन्त्रबाटै लड्दा पनि उनले जिते । त्यसपछि भने उनी कांग्रेस प्रवेश गरे । २०५६ को चुनावमा उनी कांग्रेसबाट लडे र विजयी बने । जव माओवादी शान्ति प्रक्रियामा आयो, २०६४ मा पहिलो संविधानसभाको चुनाव भयो । उनी कांग्रेस छोडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा पुगे । त्यही पार्टीबाट चुनाव लडे, तर जित्न सकेनन ।
२०७० को दोस्रो संविधानसभा चुनावमा उनी दुई निर्वाचन क्षेत्रबाट चुनाव लड्े, तर दुबै क्षेत्रमा उनले चुनाव जितेनन । त्यसपछि संविधानसभाबाट संविधान निर्माणपछि महन्थ ठाकुर नेतृत्वको पार्टीमा रहे । २०७४ मा उनी राष्ट्रिय जनता पार्टीबाट बिजयी बने ।
२०७९ मा उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट पुनः विजयी बनेका थिए । यही चुनाव हो, जहाँ उनले निकटतम प्रतिस्पर्धी भन्दा १४ हजार ७० मतको फराकिलो जित निकालेको । र, अहिले फेरि फागुन २१ मा हुन लागेको चुनावमा उनी अब आफनो अन्तिम चुनाव भएको भन्दै मतदातासँग मत मागिरहेका छन् ।
४४ वर्षको यो अवधीमा उनको यो दशौं चुनावी भिडन्त हो । जसमध्ये उनले तीन पटक हारेर ६ पटक जित निकालेका छन् । अब फागुन २१ मा के गर्छन् ? त्यो भने हेर्न बाँकी छ ।
४४ वर्षमा २० पटक मन्त्री
शरदसिंह भण्डारी नेताहरुमध्ये सबैभन्दा बढी मन्त्री बन्ने नेतामा पनि पर्छन् । ४४ वर्षको उनको राजनीतिक दौडमा उनी विस पटक मन्त्री बनिसकेका छन् । २०४३ को राष्ट्रिय पञ्चायत सदस्य चुनाव जितेपछि उनका लागि मन्त्री बन्ने बाटो खुलेको थियो । २०४३ मै उनी पञ्चायत तथा स्थानीय विकास सहायक राज्यमन्त्री बनेका थिए ।
त्यसपछि वाणिज्य राज्यमन्त्री, बिनाविभागीय मन्त्री हुँदै उनले विभिन्न सरकारमा निरन्तर मन्त्रीको जिम्मेवारी पाए। मरिचमानसिंह श्रेष्ठदेखि शेरबहादुर देउवा, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, केपी शर्मा ओली र पुष्पकमल दाहालसम्म आठ प्रधानमन्त्रीसँग उनले काम गरिसकेका छन्।
उनले राष्ट्रिय पञ्चायत देखि गणतन्त्रसम्म स्वास्थ्य, युवा तथा खेलकुद, पर्यटन, रक्षा, ऊर्जा, श्रम लगायत विभिन्न मन्त्रालय सम्हालेका छन्। यो भन्दा अगाडी एमाले–कांग्रेस गठबन्धन सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को तर्फबाट उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका थिए।
वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलको पुस्तक ‘नेपालका मन्त्री र सांसदहरू’ अनुसार भण्डारी २०७५ सालसम्म १७ पटक मन्त्री भइसकेका थिए। त्यसयता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फेरि ओली नेतृत्वको सरकारमा गरी उनी २० पटक मन्त्री बनेका हुन्। उनले श्रम मन्त्रालयसहित ऊर्जा, रक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, वाणिज्य, युवा तथा संस्कृतिजस्ता ११ वटा मन्त्रालयको नेतृत्व गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०८२, ०९ : ४२
लेखकबाट थप