आगामी वर्षको मौद्रिक नीति अर्थतन्त्र सुधार्नेगरी आउछ : गभर्नर अधिकारी

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १८ : ५५
आगामी वर्षको मौद्रिक नीति अर्थतन्त्र सुधार्नेगरी आउछ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताए ।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने बताए ।

उनले भने, ‘मलाई कताकता लाग्छ हामी यस्तो बेला परिएछ, संसार भरका अर्थशास्त्रीले निकालेका सिद्धान्तहरुका प्रयोग यतिबेला नै गर्न पाइने जस्तो भइरहेको छ । व्यवहारिक हिसावले त्यो अवस्था छ । सबैले अर्थतन्त्रका सबै सूचकको विषयमा जानकारी नै हुनुहुन्छ । उद्योग व्यवसायमा लाग्ने साथीहरुले दबाब र सहज दुवै महशुस गर्नुभएको छ । हामी मौद्रिक नीतिको तयारीमा छौं ।’

उनले फेरि भने, ‘मौद्रिक नीति असारको अन्त्यमा ल्याउँछौं नसके साउन महिनाको पहिलो साता ल्याउने तयारीमा छौं । मौद्रिक नीति सकेसम्म अहिले अर्थतन्त्रमा परेको प्रभावलाई निकास दिनेगरी कसरी ल्याउन सकिन्छ भन्ने हिसावले ल्याउने तयारी छ । मौद्रिक नीतिले करको विषयमा केही गर्दैन ।’

त्यस्तै गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै जाने अवस्था भइरहेको बताए । उनले पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताए । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गरे ।

उनले अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको बताए । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनको भनाइ छ । उनले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने बताए ।

गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले मौद्रिक नीतिहरु सर्पपनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको बताए । गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गरे ।

उनले मौद्रिक नीति ल्याउँदा व्यक्ति व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज , समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायीत्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको बताए । गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै ११२÷१३ अर्बको रिफाइनान्स,झन्डै २५० को एससेलएफ सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताए ।

प्रतिक्रिया दिनुहोस