संसदभित्र र बाहिर प्रश्नहरु उठेकाले अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : गगन थापा

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १८ : ५२
संसदभित्र र बाहिर प्रश्नहरु उठेकाले अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरु उठेकोले राजीनामा दिनुपर्ने उनले बताए । उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए । उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र तत्काल छानबिन गर्नुपर्छ । हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सिसिटिभि फुटेज राख्नेकुरा भनिहाल्छ ।’

उनले थपे, ‘त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन । यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन । यस्तो ग¥यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ । र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ । वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ ।’

उनले फेरि भने, ‘तत्काल उहाँले राजीनामा दिने । वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने । छानविन गरेपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो । दोषी होइन भने कम्तिमा देशलाई, जनतालाई थाहा भयो । यो होइन रहेछ भन्नेकुरा थाहा भयो ।’

महामन्त्री थापाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए । उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफूहरुले अनौपचारिक रुपमा भनिसकेको पनि बताए ।