रुपन्देहीमा हतियार सहित तिन भारतीय युवा पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, ११ : ३४
रुपन्देहीमा हतियार सहित तिन भारतीय युवा पक्राउ

बुटवल । रुपन्देहीमा हतियार सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राती इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो।

युपी ५५ एडी ०६८४ नम्बरको मोटर साइकल शंका लागेर खोजी गर्दै जाने क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेद पौडेलले जानकारी दिए।

पक्राउ परेकाहरु मध्येबाट मोटरसाईकल चालक चिनक भनिने मेदि हुसेनको साथबाट एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस