अमेरिकाले युक्रेनलाई ३२२ मिलियन डलरको हतियार दिने

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०८२, ०९ : ५९
अमेरिकाले युक्रेनलाई ३२२ मिलियन डलरको हतियार दिने

File Photo

काठमाडौं । अमेरिकाले युक्रेनलाई ३२२ मिलियन अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने भएको छ । वायु रक्षा प्रणाली र बख्तरबन्द सैन्य सवारीसाधनहरू पनि अमेरिकाले बिक्री गर्ने भएको छ । 

यो निर्णय त्यति बेला आएको हो, जब रूसले युक्रेनमाथिको हमला तीव्र बनाएको छ । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार १५० मिलियन डलर बख्तरबन्द सवारीसाधनको मर्मत र रखरखावका लागि तथा  १७२ मिलियन डलर वायु रक्षा मिसाइल प्रणालीका लागि छुट्याइएको छ । यो प्रस्ताव अमेरिकी संसद (कंग्रेस)मा पेस भइसकेको छ ।

केही हप्ताअघि अमेरिकी रक्षामन्त्री पीट हेजसेथले अमेरिकाको आफ्नै हतियार भण्डारको मूल्यांकनका लागि युक्रेनलाई हतियार पठाउन रोक लगाएका थिए । 

यो निर्णयले ह्वाइट हाउसलाई पनि चकित बनाएको बताइएको थियो । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अडान परिवर्तन गर्दै युक्रेनलाई थप हतियार सहायता दिने घोषणा गरे ।

सन् २०२२ मा रूसले युक्रेनमाथि हमला गरेपछि अमेरिकाले युक्रेनलाई हालसम्म ६७ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गरिसकेको छ ।

अमेरिकाले पटक–पटक आफ्ना सहयोगी राष्ट्रहरूलाई युक्रेनलाई वायु रक्षा प्रणाली उपलब्ध गराउन आह्वान गर्दै आएको छ । तर, आफैँ रूसी खतरामा रहेका पूर्वी युरोपेली देशहरू यस्ता उच्च प्रविधियुक्त प्रणाली दिन तयार छैनन् । 

यसैबीच, बुधबार टर्कीको इस्तानबुलमा युक्रेन–रुसबीच  शान्तिवार्ता भएको छ । वार्तामा युक्रेनी पक्षले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चाँडै प्रत्यक्ष वार्ता गराउने प्रस्ताव अघि सारिएको छ ।

यूक्रेनका प्रमुख वार्ताकार रुस्तेम उमेरोवले बताएअनुसार दुवै राष्ट्रपतिबीचको बैठक आगामी अगस्टको अन्त्यसम्म हुनसक्ने सम्भावना छ । जसमा अमेरिकी राष्ट्रपति ट्रम्प र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनलाई पनि समावेश गर्ने प्रस्ताव गरिएको छ ।

तर, रूसले मुख्य वार्ताकार भ्लादिमिर मेदिन्स्कीले दुवै पक्षबीच लामो समयदेखि वार्ता चलिरहे पनि विचारमा अझै धेरै मतभेद रहेको बताए । उनले वार्ता आगामी दिनमा पनि जारी रहने जनाए ।

केही समयअगाडि भएको वार्तामा युक्रेन र रूसले १२०० युद्धबन्दीहरू आदानप्रदान गर्ने सहमति गरेका छन् । रूसले तीन हजार युक्रेनी सैनिकहरूको शव फिर्ता गर्न तयार भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस