पत्रिकामा साउदी राजकुमारीको तस्वीर छापेपछि हंगमा

शुक्रबार, १८ जेठ २०७५, १६ : ११
पत्रिकामा साउदी राजकुमारीको तस्वीर छापेपछि हंगमा

एजेन्सी । कारमा बसेकी एक साउदी राजकुमारीको तस्वीर ‘भोग’ पत्रिकाले आफ्नो आवरणमा छापेपछि देशमा हंगमा भएको छ । यो तस्वीरको भने सुधारवादीहरुले नै आलोचना गरेका छन् ।
हातमा छालाको पन्जा र अग्लो हिल लगाएकी राजकुमारी हायफा विन्त अब्दुल्ला अल साउद कारको ड्राइभर सिटमा बसेको तस्वीर जुन महिनाको ‘भोग’को अरबीय संस्करणमा छापिएको छ ।
यो तस्वीर यस रुढीवादी अधिराज्यले महिलाहरु माथिको लगाइरहेको ड्राभिङ्ग प्रतिबन्ध हटाउन लागेको अवसरमा छापिएको हो । तर यसले थप विवाद निम्तीएको छ ।‘भोग’ले जुनको आफ्नो यो अङ्कलाई ‘साउदी अरबका पथपर्दशक महिलाहरु’ प्रति समर्पित गरेको छ । यसमा युवराज मोहम्मद बिन सलमानले शुरु गरेको सुधारहरुको प्रशंसा गरिएको छ । सलमानले केही समयदेखि यो रुढीवादी समाजमा रहेको समाजिक नियन्त्रणहरु खुकुलो बनाउने र धार्मिक कट्टरपन्धीहरुको शक्ति नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

“हाम्रो देशमा केही रुढीवादीहरु छन् जो परिवर्तनसँग डराउछन् । धेरैले यही अवस्था मात्र देखेकाले तिनलाई यही मात्र यथार्थ लाग्छ ।” पत्रिकामा राजकुमारी हायफाको यस्तो भनाई उद्दरण गरिएको छ । राजकुमारी हायफा पूर्व राजा अब्दुलाकी छोरी हुन् ।

“व्यक्तिगत रुपमा म यस सुधारलाई ठूलो उत्साहका साथ समर्थन गर्छु ।” राजकुमारीले थप भनिन् । उनको यो तस्वीर आवरण साउदी अरबको पश्चिमी सहर जेद्हा बाहिर रहेको मरुभुमिमा खिचिएको थियो ।

तर यो तस्विरले केही दिन अघि पक्रिएका कम्तीमा ११ अधिकारकर्मीहरुको पक्राउको विरोध गरिरहेका अभियानकर्मीहरुको ध्यान तानेको छ । पक्राउ पर्नेमा अधिकांश महिलाहरुले गाडी चलाउन पाउने अधिकारको माग गरिरहेका र पुरुष अभिभावकत्व प्रणालीको अन्त्यको माग गर्ने एक मानवअधिकार समूहका अभियानकर्ताहरु छन् । क्राउ परेका कम्तीमा चार अभियानकर्मीहरु अघिल्लो हप्ता जेलमुक्त गरियो । एम्नेष्टी इन्टरनेसनलका अनुसार अन्य अभियानकर्ताहरुको अवस्था भने अज्ञात रहेको छ । राज्य समर्थित सञ्चारमाध्यमहरुले पक्राउ परेकाहरुलाई देशद्रोही र ‘दूतावासहरुको एजेन्ट’ को रुपमा प्रस्तुत गरेका थिए ।

सामाजिक सञ्जालमा धेरैले ‘भोग’को उक्त आवरण तस्विरमा राजकुमारीको टाउको रहेको स्थानमा पक्राउ परेका अभियानकर्मीहरुको तस्वीर राखेर पोष्ट गरिरहेका छन् ।

विश्वव्यापी आलोचना निम्त्याएको यो धरपकटले युवराजले शुरु गरेको सुधारको सीमा देखाएको विश्लेषकहरुले बताएका छन् । हालसालै साउदी युवराज आफ्नो देशको कढा खालको छवि सुधार गर्नको लागि विश्वव्यापी भ्रमणमा थिए ।

यो देशको मानव अधिकारको अवस्थाका कारण विगतदेखि आलोचनाको खेपिरहेको यो अधिराज्यले जुन २४ बाट महिलाहरुमाथि रहेका दशकौँ लामो प्रतिबन्ध हटाउँदैछ ।

 

प्रतिक्रिया दिनुहोस