जैविक फोहोरलाई उपत्यकामै व्यवस्थापन गर्ने गृहकार्यमा जुटे

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, २१ : ३७
जैविक फोहोरलाई उपत्यकामै व्यवस्थापन गर्ने गृहकार्यमा जुटे

काठमाडौं । काठमाडौं महानगरपालिका, जैविक फोहोरलाई उपत्यकामै व्यवस्थापन गर्ने गृहकार्यमा जुटेको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर छुट्याएर मात्रै खसाल्ने सहमति गरेको महानगरले आगामी साउनदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छुट्टै संकलन गर्ने सूचना जारी गरिसकेको छ ।यसरी वर्गीकरण गरिएका फोहोरमध्ये कुहिने फोहोर बञ्चरेडाँडामा नलगी शहरभित्रै कम्पोस्टिङमार्फत व्यवस्थापन गर्न मेयर बालेन साहको टिमले काम गरिरहेको छ ।

त्यसको संकेत गर्दै बुधबार मेयर बालेनले सामाजिक सञ्जालमा लेखे, ‘काठमाडौंमा निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम गराउन सकिन्छ भन्नेमा काठमाडौं महानगर क्रियाशील छ । यस कामका लागि हुने सफलता र असफलताले देशभर उल्लेख्य फरक पार्नेमा हामी सचेत छौं ।’मेयर बालेनको टिमका सदस्यहरुका अनुसार फोहोरको दीर्घकालीन समस्या समाधानका लागि कुहिने फोहोरको कम्पोष्टिङ (कुहाएर मल बनाउने)देखि नकुहिने फोहोर ठेक्का लगाएर बेच्नेसम्मका योजनामा काम भइरहेको छ ।

‘फोहोरबाट जतिसक्दो बढी आम्दानी गर्ने योजना हो,’ स्रोत भन्छ, ‘त्यसका लागि पहिलो चरणमा जैविक फोहोरको मल बनाउने हो, यो तुरुन्तै गर्न सकिने अवस्था छ ।’

काठमाडौं महानगरपालिकामा मात्रै करिब साढे ५०० टन फोहोर संकलन हुन्छ, जसमध्ये करिव ६० प्रतिशत कुहिने फोहोर हुन्छ । कुहिने फोहोर नफाल्ने हो भने बञ्चरेडाँडा १०० वर्षसम्म प्रयोग गर्न सकिन्छ । सबै लगिराख्ने हो भने २०/२५ वर्षमै भरिन्छ । त्यसैले बञ्चरेडाँडामा ल्यान्डफिलसाइट सञ्चालन तथा व्यवस्थापनको विश्वव्यापी मापदण्ड लागू गर्न चाहेको महानगरका अधिकारीहरु बताउँछन् ।

यसका लागि कुहिने फोहोर सम्बन्धित पालिकाभित्रै व्यवस्थापन गर्ने उपायको खोजी भइरहेको छ । काठमाडौं महानगरले टेकुस्थित फोहोर ट्रान्सफर प्लान्टमै वैज्ञानिक ढंगबाट व्यवस्थापन सकिन्छ कि भनेर नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क)ले अहिले अध्ययन गरिरहेको छ,’ एक अधिकारीले भने, ‘कुहिने फोहोर व्यवस्थापनका अन्य उपायबारे पनि अध्ययन गरिरहेको छौं ।’

प्रतिक्रिया दिनुहोस