स्वर्णप्राशन सम्बन्धी निर्देशिका स्वीकृत

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०८२, १८ : ०२
स्वर्णप्राशन सम्बन्धी निर्देशिका स्वीकृत

काठमाडौँ । आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्णप्राशन कार्यक्रमलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट उक्त निर्देशिका स्वीकृत गरेको छ ।

उक्त निर्देशिकाको मुख्य उद्देश्य स्वर्णप्राशनको सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी रूपमा यसको सेवन सुनिश्चित, पारम्परिक आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तर मापदण्डअनुसार संरक्षण गर्नु हो । स्वर्ण विन्दु प्राशनबाट बाल स्वास्थ्य संवर्द्धनका साथै मातृ शिशु स्वास्थ्य संवर्द्धनका कार्यक्रमसमेत सञ्चालन गर्नु रहेको छ ।

आयुर्वेद चिकित्सा विज्ञानमा बालबालिकाको सर्वांगीण विकासका लागि स्वर्णविन्दु प्राशनको वर्णन गरिएको छ । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशका रूपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन भनिन्छ । बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णविन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको छ ।

 

स्वर्णविन्दु प्राशन प्रत्येक महिनामा पुष्या नक्षत्रको दिन उल्लिखित स्वास्थ्य संस्थामा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिएबमोजिमको मात्रामा खुवाइनेछ । यस कार्यक्रमबाट ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिका लाभान्वित हुने बताइएको छ । सो कार्यक्रममा ज्वरो, अजीर्ण, पखाला, आउँ, रुघाखोकी भएका बालबालिकालाई सहभागी गराइने छैन ।

यस स्वर्णविन्दु प्राशन कार्यक्रमबाट बालबालिकाको समग्र स्वास्थ्य संरक्षण र प्रवर्द्धन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षाका साथ यस वर्षबाट राष्ट्रिय कार्यक्रमका रूपमा सञ्चालन गरिएको छ । आगामी वर्षमा क्रमिक रूपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीय तहमा विस्तार गरिने स्वास्थ्य मन्त्रालयको तयारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार सो कार्यक्रम नेपालभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेदिक अस्पताल तथा आयुर्वेद शिक्षण अस्पतालमा प्रयोगका लागि मार्गदर्शन प्रदान गर्ने रहेको छ ।

हाल पहिलो चरणमा प्रादेशिक आयुर्वेद चिकित्सालय (बिजौरी दाङ), त्रिवि आयुर्वेद शिक्षण अस्पताल (कीर्तिपुर), आयुर्वेद चिकित्सालय नरदेवी, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र (बुढानीलकण्ठ), प्रादेशिक आयुर्वेद चिकित्सालय (धनगढी)-सुदूरपश्चिम प्रदेश, प्रादेशिक आयुर्वेद चिकित्सालय (लखनपुर, झापा)-कोशी प्रदेश, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय (पर्सा)-मधेस प्रदेश, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय (काठमाडौँ) बागमती प्रदेश, गण्डकी आयुर्वेद अस्पताल (पोखरा)-गण्डकी प्रदेश लगायतमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस