रुस र युक्रेनले गरे युद्धबन्दी साटासाट

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, ११ : ११
रुस र युक्रेनले गरे युद्धबन्दी साटासाट

रुस र युक्रेनले बुधवार युद्धबन्दी साटासाट गरेका छन् । 

दुवै पक्षले आफ्ना १४४ बन्दीहरू अर्को पक्षलाई दिएका हुन् । फेब्रुअरी महिनामा द्वन्द्व शुरू भएपछिको यो सबभन्दा ठूलो बन्दी साटासाट हो । युक्रेनको सैन्य गुप्तचर सेवाले साटासाटको पहिलो घोषणा गरेको थियो । मरिउपोलमा आत्मसमर्पण गरेका नवनाजी आजोभ रेजिमेन्टका ४३ जना लडाकूलाई पनि रुसले युक्रेनलाई सुम्पेको छ । 

मस्कोले यसबारेमा केही नभने पनि डोनेत्स्क जनगणतन्त्रका प्रमुख डेनिस पुशिलिनले यसको पुष्टि गरे । ‘शत्रुको कब्जामा रहेका डोनेत्स्क जनगणतन्त्र तथा रुसका १४४ लडाकूहरू आज घर फर्किरहेका छन्,’ पुशिलिनले सामाजिक सञ्जालमा लेखे । 

‘हामीले किएभलाई त्यति नै संख्यामा बन्दीहरू सुम्पियौं । तीमध्ये अधिकांश घाइते छन् । अधिकांश नेसनलिस्ट बटालियनका प्राइभेट हुन् । उनीहरूको अवस्था बिजोक छ । उनीहरूलाई गम्भीर घाउचोट लागेको छ,’ उनले थपे । 

रुस र युक्रेनले एकअर्काका अनेकौं सैनिक नियन्त्रणमा लिएको दाबी गरेका छन् । जुन महिनाको आरम्भमा मस्कोले आफ्नो हिरासतमा ६५ सय युक्रेनी लडाकूहरू रहेको बताएको थियो । अहिलेसम्म दुई देशबीच ११ चरणमा बन्दी आदानप्रदान भएको छ । 

प्रतिक्रिया दिनुहोस