महँगी नियन्त्रणका लागि सरकारले बजार अनुगमन गर्छ : मन्त्री बडू

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १९ : ३४
महँगी नियन्त्रणका लागि सरकारले बजार अनुगमन गर्छ : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन्। वाणिज्य मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताए।

उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताए।मन्त्री बडूले इन्धनको एक्कासी मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए।

उनले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि बताए।

इन्धनको मूल्य उच्च रूपमा बढ्दै गएसँगै अकासिएको बजारमूल्य नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए।उनले भने, ‘सरकारले बजार अनुगमनको विधि परिवर्तन गर्नुपर्छ। जनताले अनुभूति हुने गरी प्रभावकारी भयो भने घट्न जरुरी हुन्छ। त्यो स्थिति सरकारले निर्माण गर्नुपर्छ। मन्त्रालयको अनुगमन निकाय, अन्य मन्त्रालयका निकाय, सात वटै प्रदेशका निकाय, निर्देशनालय र ७७ वटै जिल्लाका अनुगमन अधिकारी, प्रहरी तथा ७५३ वटै स्थानीय तहमा पनि अनुगमन अधिकार तोक्न निर्देशन दिएका छौँ। यी सबै निकायमा एकसाथ एकै समयमा अनुगमन गर्नुपर्छ।’

मन्त्री बडूले नेपाल आयल निगमको कर नघटाईकन मूल्य घटाएको भन्ने प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयले शोधभर्ना दिने भएकाले मूल्य घटाएको बताए।

उनले कर घटाउने र कर बढाउने कुरा अर्थ मन्त्रालयको जिम्मेवारीभित्र रहेको बताए।मन्त्री बडूले मन्त्रिपरिषद्को निर्णयले आयल निगमले मूल्य घटाएको र अहिले निगमले घटाएको मूल्यमा खरिद गरिरहेको दाबी गरे।उनले करको दर घटाउने कुरामा अर्थ मन्त्रालयसँग कुनै विवाद नभएको बताए। मन्त्री बडूले कर कहाँ समायोजन गर्ने, कति घटाउने, अर्थ मन्त्रालयको काम भएकाले कर नघटाए राज्य कोषबाट इन्धन किन्न पैसा दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘कर घटाउने र कर बढाउने कुरा विशुद्ध अर्थ मन्त्रालयको विषय हो। अर्थमन्त्री नै त्यसबारे जिम्मेवार हो र उहाँले आफ्नो काम गर्नुभयो। तेलको मूल्य घटेर पनि कम मूल्य तिर्न लागिसकेका छन् जनताले यो यथार्थ हो। मन्त्रिपरिषद्को निर्णयमा अर्थमन्त्री पनि सहभागी हुनुहुन्छ। कर घटेको अथार्थ हो। कर घटाउने कुरा अर्थ मन्त्रालयको हो। कहाँ कति घटाउने वा नघटाई राज्यकोषबाट तेल किन्न पैसा दिने आयल निगमलाई एउटै कुरा त भयो। जसकारण आयल निगमले घटाइसक्यो। यसमा धेरै विवादको विषय छैन। मन्त्रिपरिषद्ले निर्णय गरिसक्यो। कर कहाँ कति समायोजन गर्ने उसको विषय भयो। मन्त्रिपरिषद्को निर्णयका कारण मूल्य घटेको छ। जनताले घटेको मूल्यमा डिजेल र पेट्रोल किन्न थालेका छन्।’

मन्त्री बडूले इन्धनको मूल्य घटाए पनि बजारमा त्यसको कार्यान्वयन भए÷नभएको निगरानी गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताए।उनले यातायातको ढुवानी बढेकाले बजारमा मूल्यवृद्धि बढेको र यातायात मन्त्रालयलाई ढुवानी भाडा नियन्त्रण गर्न आग्रह गरिएको बताए। मन्त्री बडूले सरकारले बजारलाई हस्तक्षेप गरेर बजारलाई नियन्त्रणबाहिर जान नदिने प्रतिबद्धता व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस