भरतपुर महानगरपालिका : ‘योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन’

रासस

बुधबार, १५ असार २०७९, ०९ : ५५
भरतपुर महानगरपालिका : ‘योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन’

चितवन । विकास गतिमा तीव्ररूपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाअध्यक्षहरू योजना लिएर प्रमुख समक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घ मध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्र फर्किन्छन् ।

गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर महानगरपालिका नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र पनि हो । महानगर प्रमुख माओवादीकै केन्द्रीय सदस्य रेनु दाहाल छिन् । निरन्तर विकास निर्माणमा लागिरहने दाहालको प्रयासकै कारण भरतपुरले विकासमा गति लिएको हो ।

त्यसो त भरतपुर महानगरपालिकाले प्रत्येक वर्ष पूर्वप्रधानमन्त्री, मुख्यमन्त्री, सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशक, राष्ट्रिय योजना आयोगलगायतका विकाससँग सम्बन्धित व्यक्तित्वलाई ल्याएर छलफल गर्ने गरेको छ । छलफलमा विगत वर्षका समीक्षा गर्दै आगामी वर्षका योजना र जनभावनाको समेत कदर हुने गरेको छ । विकास सरोकार राख्ने निकायका जिम्मेवार व्यक्ति बजेट दिन हिच्किचाउँदैनन् ।

पर्याप्त बजेट ल्याउने र त्यसलाई समुचित बाँडफाँट र सदुपयोग गरेकै कारण प्रत्येक वर्ष भरतपुर आउने बजेट बढ्दै गएको छ । भरतपुर महानगरपालिका–२ का निवर्तमान अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटीका सदस्य पूर्णबहादुर श्रेष्ठ आफ्नो कार्यकालभरी महानगरमा लगेका योजना कुनै पनि नफर्किएको बताउछन् । उनले भने, “पाँचवर्षे कार्यकालमा वडामा झण्डै रु ४५ करोडको काम भएको छ ।”

महानगरले वडाका लागि विनियोजन गरेको वार्षिक रकम रु एक करोड पाँच लाखदेखि सुरु भएर पाँचौँ वर्ष पुग्दै गर्दा रु एक करोड ७० लाखसम्म पुगेको थियो । यद्यपि यसबाहेक उपयुक्त योजना वडाबाट लगेपछि फिर्ता हुन नपरेको श्रेष्ठको भनाइ छ । भरतपुर महानगरपालिका–८ का निवर्तमान अध्यक्ष एवं जिल्लाका कांग्रेस नेता दामोदर न्यौपानेले वडाबाट निर्णय भएर गएका सबै योजना प्रमुख दाहालले सदर गरेर बजेट निकासा गराएको बताए। उनले भने, “हाम्रो वडामा मात्रै पछिल्लो एक वर्षमा रु २० करोडभन्दा बढीको काम भएको छ ।” 

वडा नं २२ का अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का महानगर अध्यक्ष विष्णुराज महतो दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका छन् । उनको भनाइमा वडाध्यक्षका धेरै चाहना हुने भए पनि अधिकांशजसो सम्बोधन गर्ने काममा दाहाल सकारात्मक छिन् । महानगरको बजेटभन्दा प्रदेश र सङ्घबाट धेरै बजेट ल्याएर वडामा विकासका काम भएको महतोको भनाइ छ । पटिहानी क्षेत्रमा पर्ने उक्त वडामा सडक, खेलकुदसँगै पर्यटन क्षेत्रमा धेरै विकास निर्माण भएका छन् ।

महानगर प्रमुख दाहाल आफ्नो अघिल्लो कार्यकालमा वडाध्यक्षले ल्याएका कुनै योजना फिर्ता गर्नु नपरेको बताउछिन् । केही वडाध्यक्षले योजना नल्याएपछि आफैँले फोन गरेर योजना ल्याउन लगाएर काम गरेको उनको भनाइ छ ।  महानगरभित्रका सडकसँगै भौतिक पूर्वाधारको अवस्था जो–कोहीले पनि देख्न सक्ने उनले बताइन् ।

कोही एक व्यक्तिले महत्वपूर्ण आयोजना लिएर आउँदासमेत आफूले सम्बोधन गर्ने गरेको दाहाल बताउछिन् । आफ्नो दोस्रो कार्यकालमा सर्वाधिक मतका साथ विजयी हुनुको प्रमुख कारण विकास निर्माण भएको उनको बुझाइ छ । दाहालले आफ्नो पाँच वर्षको अवधिमा महानगरबाट रु २० अर्बभन्दा बढीको काम गर्दैगर्दा प्रदेश र सङ्घबाट रु ४५ अर्बभन्दा बढी बजेट ल्याउन सफल भएको बताइन् । 

 

प्रतिक्रिया दिनुहोस