काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई बर्खास्त गर्ने निर्णय लिन अहिले बोर्डको बैठक बसिरहेको छ । रेग्मीको बर्खास्तीको निर्णय लिन अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बोर्ड सञ्चालक समितिको बैठक बसिरहेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आइतबार बोर्ड बैठक राखेर निर्णय गर्न अध्यक्ष तथा पर्यटन सचिव न्यौपानेसहितको टोलीलाई दबाब दिएका थिए । निर्देशनअनुसार काम भएमा आज आले काठमाडौं आइपुग्दा सीईओ रेग्मी बर्खास्तीमा परिसक्नेछन् ।
मन्त्रालय स्रोतको दाबीअनुसार बोर्ड बैठकमा जसरी पनि बहुमत पुर्याउने प्रयास भइरहेको छ । निजी क्षेत्रबाट बोर्ड सदस्यको रूपमा प्रतिनिधित्व गर्ने पाँच जना सदस्यमध्ये अधिकांश रेग्मीको पक्षमा छन् । त्यसकारण सरकारी प्रतिनिधिहरूलाई उपस्थित गराई बहुमत पुर्याउने प्रयास गरिएको हो ।
विगत लामो समय सीईओ रेग्मीको विपक्षमा रहेका कृष्णबहादुर शाह र ङवाम शेर्पा केही महिनायता उनको पक्षमा रहेका थिए । त्यही कारण ३१ जेठको मन्त्रिपरिषद् बैठकले शेर्पा र शाहलाई हटाउने निर्णय गरेको थियो । शाह र शेर्पा पनि मन्त्रिपरिषद्को उक्त निर्णयको विरोधमा आज अदालत जाने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, ११ : ५६
लेखकबाट थप