काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन् ।
शनिबार सिन्धुपाल्चोकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।
‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ’, उनले भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म त्यो संभावना छैन ।’
उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले आफूलाई फाइदा हुने र गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गरेको टिप्पणी गरे ।‘आफू जित्ने ठाउँमा माओवादीलाई अरुसंग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसंग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो । अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन’ नेता पुनले भने ।
कांग्रेसको चलाखीका बाबजुद अझै कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको उनको टिप्पणी छ । यद्यपि गठबन्धन सम्मानजनक हुनुपर्ने र नभएमा टुट्न सक्ने उनको भनाइ छ ।
केही देशीविदेशी तत्वहरुले यस पटकको निर्वाचनमा माओवादी केन्द्र पत्तासाफ हुने हल्ला चलाए पनि जनताले त्यसलाई गलत सावित गरिदिएको पनि पुनले बताए । ‘यो नासिने र मासिने पार्टी होइन संख्यात्मक हिसाबले माओवादी केन्द्र तेस्रो शक्ति देखिए पनि विचार र सिद्धान्तको हिसाबले पहिलो पार्टी हो’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १७ : ३५
लेखकबाट थप