काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताएका छन्। सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउने गरी अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरेका हुन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नागरिकतासम्बन्धी विद्येयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गरे।नले भने, ‘नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न मिल्दैन। यदि अहिले ल्याएको नागरिकतासम्बन्धी विद्येयक पारित गराउने हो भने नेपालका जनता चाहिँ अल्पमतमा पर्ने र विदेशबाट नेपाल आएकाहरु बहुमतमा हुनेछन्। हामीले यो कुरा फिजीमा देखेका छौँ।’
केसीले थपे, ‘नागरिकतासम्बन्धी पटक–पटक सर्वोच्चले पनि निर्णय गरेको छ। सत्ता स्वार्थलाई पूरा गर्नको लागि यस्तो काम गर्नुहुँदैन। ०७२ को संविधानमा केही त्रुटि भएको भए पनि त्यसलाई सच्याएर जानुपर्छ। वैवाहिक अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था पारित गर्नुहुन्न। यो हाम्रो पार्टीको माग हो।’
अध्यक्ष केसीले नागरिकले नागरिकता पाउने विषयमा आफूहरुको विरोध भने नरहेको स्पष्ट पारे। उनले भने,‘अहिले नेपालमा संसदभित्र नागरिकताको विषयमा छलफल तथा बहस भैरहेको छ। संसद् बाहिरको कुरा गर्दा नेपाली जनता महँगीको मारमा परेका छन्। सरकारले महँगीविरुद्ध आश्वासनबाहेक केही पनि गर्न सकेन। आज सुन्नमा आएको छ कि पेट्रोल र डिजेलमा भाउ घटाएको छ रे। अब त्यो पनि व्यापारीले कति मान्ने हो?’
केसीले वंशजको नागरिकता दिनको लागि आमा पनि वंशज र बुवा पनि वंशज हुनुपर्ने आफूहरुको अडान रहेको सुनाए।
उनले भने,‘सबभन्दा पहिले अहिले सदनभित्र चलेको नागरिकताको विषय हो, कुनै पनि देशका नागरिकले नागरिकता पाउने कुरामा विवाद होइन। हाम्रो समस्या के भयो भने संविधानमा सबै कुरा स्पष्टता छ, यहाँ अंगीकृत नागरिकबाट जन्मिएकाहरुलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने कुरा आइरहेको छ। हाम्रो भनाइ के हो भने वंशजको नागरिकता दिनको लागि नेपालमा आमा वंशज र बुवा पनि वंशज हुनुपर्छ। त्यसबाट जन्मिएको छोराछोरीलाई वंशजको नागरिकता दिन मिल्छ। अंगीकृतका छोराछोरीले जागिर पाएनन्, पढ्न पाएनन्, उनीहरुले अवसर पाएनन् भन्ने कुरा छ, राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिन मिल्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १६ : २१
लेखकबाट थप