चितवन जिल्ला लाल किल्ला

चितवनमा वाम गठबन्धनको ऐतिहासिक एकलौटी जित

मंगलबार, २६ मंसिर २०७४, ०९ : १३
चितवनमा वाम गठबन्धनको ऐतिहासिक एकलौटी जित

चितवन । ऐतिहासिक एकलौटी जित निकाल्दै वाम गठबन्धनका उम्मेदवारले चितवन जिल्लालाई लाल किल्ला बनाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएसँगै चितवन जिल्ला लाल किल्ला बनेको हो । 
 

यस्तो छ अन्तिम मत परिणाम
क्षेत्र नम्बर एक
निर्वाचत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डे विजयी भएका छन् । पूर्वअर्थमन्त्री पाण्डेले नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४३ मतको फराकिलो मतान्तरले पराजित गरे । एमालेका पाण्डेले ५० हजार ८ सय ९७ मत पाउँदा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत पाए । 
यस क्षेत्रबाट पाण्डे दोस्रोपल्ट निर्वाचित भएका हुन् । यसअघि पाण्डेले यो क्षेत्रमा गरेको विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । यसअघि संविधान निर्माणमा समय खर्चिएर पनि भौतिक निर्माणका काम गर्न सफल भएको बताउँदै पाण्डेले अब सबै ध्यान समृद्धिमा दिने प्रतिवद्धता जनाएका छन् । 
निर्वाचन क्षेत्र नं. एकको प्रदेश सभा क मा वाम गठबन्धनका उम्मेदवार दावा लामा विजयी भएका छन् । लामाले कांग्रेसका धनबहादुर गुरुङलाई ७ हजार २९ मतले पराजित गरे । लामाले २३ हजार २३ मत पाउँदा गुरुङले १५ हजार ९ सय ९४ मत पाए । 
क्षेत्र नं. एककै प्रदेश सभा ख मा वाम उम्मेदवार कृष्णप्रसाद खनाल २७ हजार २ सय ३१ मतका साथ विजयी भएका छन् । उनले कांग्रेसका उत्तम आचार्यलाई ८ हजार ७ सय २१ मतले पराजित गरे । आचार्यले १८ हजार ५ सय मत पाएका छन् । 
क्षेत्र नम्बर दुई
निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनकै कृष्णभक्त पोख्रेल विजयी भएका छन् । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतको फराकिलो अन्तरले पराजित गर्दै पोख्रेल विजयी भएका हुन् । एमालेका पोख्रेलले ४४ हजार ६ सय ७० मत पाउँदा काँग्रेसकय अधिकारीले २७ हजार ३ सय १४ मत पाए । नवनिर्वाचित पोख्रेलले सबैसँग मिलेर समृद्धिको बाटोमा सँगै हिँड्ने बताएका छन् । 
यस क्षेत्रको प्रदेश सभा क मा माओवादी नेता घनश्याम दाहाल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति जीतनारयण श्रेष्ठलाई ४ हजार ७ सय १८ मतान्तरले पराजित गरे । वाम गठबन्धनका दाहालले २० हजार ३ सय ७१ मत पाउँदा श्रेष्ठको पक्षमा १५ हजार ३ सय ६३ मत खस्यो । 
शीर्ष नेतृत्व नै यसपटक पराजयको शिकार भइरहेका बेला आफूलाई खासै अनौठो नलागेको बताउने श्रेष्ठले यसबाट केन्द्रदेखि स्थानीयस्तरसम्म समीक्षा गर्दै आगामी दिनमा अघि बढ्ने बताए । 
क्षेत्र नं. दुईको प्रदेश सभा ख मा निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश अधिकारीलाई ८ हजार ९ सय २ मतले पराजित गर्दै एमालेका विजय सुवेदी विजयी भएका छन् । सुवेदीले २१ हजार ५ सय ७२ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत पाए । 
क्षेत्र नम्बर तीन
क्षेत्र नम्बर तीनबाट वाम गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार तीन सय ४१ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रचण्ड विजयी भएका हुन् । 
पूर्वप्रधानमन्त्री प्रचण्डले ४८ हजार २ सय ७८ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ३५ मत पाए । प्रचण्ड वाम गठबन्धनको साझा उम्मेदवार बनेर निर्वाचनमा होमिएसँगै चितवन क्षेत्र नम्बर तीनको चुनावी सरगर्मी ह्वात्तै बढेको थियो । 
प्रदेश सभा क मा वाम उम्मेदवार कृष्ण भुर्तेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका दिनेश कोइरालालाई १ हजार ७ सय ४० मतको अन्तरले पराजित गर्दै एमालेका भुर्तेल विजयी भए । चितवनका ९ वटा क्षेत्रमध्ये अन्य क्षेत्रमा भन्दा कम मतान्तरले विजयी हुनु भएका भुर्तेलले २४ हजार ७ सय ८५ मत पाउँदा काँग्रेसका कोइरालाले २३ हजार ४५ मत पाए । 
क्षेत्र नम्बर तीनको प्रदेश सभा ख मा वाम उम्मेदवार रामलाल महतो लोकतान्त्रिक गठबन्धनका साजनकुमार महतोलाई ९ हजार १ सय १६ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । रामलालले २५ हजार ६१ मत पाउँदा साजनले १५ हजार ९ सय ४५ मत पाए । रामलाल र साजन मामाभाञ्जा हुन् । 
प्रदेश सभा सदस्य पदमा निर्वाचित भएपछि रामलालले मामाभाञ्जाको सम्बन्धमा अलिकति पनि चिसोपना नआउने बताए । ‘हिजोदेखिको सम्बन्ध आज पनि छ, भोलि पनि रहिरहन्छ’ रामलालले भने, ‘यो राजनीतिक प्रतिस्पर्धामात्रै हो । हामी मिलेर अघि बढ्छौँ । भाञ्जाले मलाई बधाई पनि दिनु भएको छ ।’ 
 

समृद्धिको सपना अब पूरा हुने
पहिलोपल्ट गृहजिल्लाबाट उम्मेदवारी दिनु भएका प्रचण्डले अब नेपाल इतिहासको नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् । धेरै वर्षदेखिको समृद्धिको सपना अब पूरा हुने पनि दाबी गरे । उहाँ यसअघि रोल्पा–काठमाण्डौँ र सिरहाबाट चुनाव लडेका थिए । 
प्रचण्डको जितसँगै चितवनको सबै स्थानमा वाम गठबन्धनले जितेको छ । जिल्लामा रहेको ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा सदस्य गरी ९ वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । 
विजयी उम्मेदवारलाई सबैजसो पराजित उम्मेदवारले भेटेरै खादा र अबिर लगाई बधाई दिएर सौहाद्र्रता देखाएका छन् । यसलाई सबैले राम्रो राजनीतिक संस्कार बसालेको भन्दै प्रशंसा गरेका छन् । 
तीन लाख ५४ हजार ३६ मतदाता रहेको चितवनमा ७३ प्रतिशत मत खसेको थियो । प्रचण्डसहित सबै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार एक समारोहबीच विजयी भएको प्रमाणपत्र वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस