गुनासो आएलगत्तै सडक मर्मत गर्दै पूर्वाधार एम्बुलेन्स

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १५ : ३४
गुनासो आएलगत्तै सडक मर्मत गर्दै पूर्वाधार एम्बुलेन्स

 देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी सडकमा देखिएको खाल्डा पुर्ने,कालोपत्रे गर्न थालेको छ।महानगरले संचालनमा ल्याएको कल सेन्टरमा आएका गुनासाका आधारमा सो एम्बुलेन्सले सडकका खाल्डा खोज्दै पुर्ने गरेको महानगरपालिकाले जनाएको छ।

सो एम्बुलेन्सले बिहान र बेलुकाको समयमा  काम गर्दै आएको महानगर पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए। यसअघि दिउँसोको समयमा   समयमा सडकमा मर्मत कार्य हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएकाले बिहान र बेलुकाको समयमा सडक मर्मत तथा खाल्डो पुर्ने काम सुरु गरेको विभागले जनाएकाे छ।

विभागीय प्रमुख थापाले भने,‘बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ९ बजेसम्म मर्मतको काम गरिरहेका छौ।’

यसका साथै ट्राफिक जाम कम हुने स्थानमा भने दिउँसोको समयमा पनि काम गर्दै आएको थापाको भनाइ छ। २७ जेठदेखि सुरु गरेको पूर्वाधार एम्बुलेन्सले हालसम्म १० हजार स्क्वायर फिट सडक कालोपत्रे गर्नुका साथै ३० हजार स्क्वायर फिट खाल्डाखुल्डी पुरेको  थापाले बताए। 

काठमाडौ महानगरपालिकाका मेयर बालेन साह निर्वाचित भएसँगै बसेको कार्यपालिकाको पहिलो बैठकले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो।

मेयर साहले निर्वाचन अगाडि नै काठमाडौंलाई स्वच्छ सफा बनाउने बताउँदै आएका थिए। सोही अनुसार काम गर्दै आएको विभागले जनाएको छ।  सडकमा देखिएका समस्या समाधान गर्नका लागि दैनिक १० वटा हारहारीमा गुनासो आउने गरेको विभागले जनाएको छ।  

महानगरपालिकाले यसअघि फोहर बोक्ने दुई गाडीलाई रंग लगाएर पूर्वाधार एम्बुलेन्सका रूपमा सञ्चालन गर्दै आएको छ। उक्त एम्बुलेन्समा महानगरका इन्जिनियर, कामदारसहित ६ जनाको टोली रहेका छन्।

 महानगरबासीले कल सेन्टरमा गुनासो गरेका आधारमा पूर्वाधार एम्बुलेन्सले टोल–टोलमा पुगेर सडक मर्मत कार्य गर्ने गरेको छ। कल सेन्टरमा सडक पेटी, ढल, इँटा, ब्लकहरू बिग्रेको तथा भत्केको गुनासो आउनासाथ पूर्वाधार एम्बुलेन्स मार्फत काम हुने गरेको विभागका प्रमुख थापाले बताए। 

प्रतिक्रिया दिनुहोस