काठमाडौं । काठमाडौंमा हैजा समुदायस्तरमै फैलदै गएको छ।केही दिनअघि बागबजारमा दुई दिदिबहिनी, कालिमाटी र ललितपुरका बसोवास गर्दै आएका मानिसमा देखिएको हैजा फेरि नयाँ ठाउँमा देखिएको हो।
बुधबार बालाजु , बूढानीलकण्ठ र डिल्लीबजारमा बस्दै आएका व्यक्तिमा हैजा पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का हैजा रोगमा फोकल व्यक्ति डा. खगेश्वर गेलालका अनुसार हैजाको लक्षण देखिएर र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि कल्चर परीक्षण गरिएकोमा बालाजु र बूढानीलकण्ठमा बस्दै आएका व्यक्तिमा हैजा पुष्टि भएको बताए।
उनका अनुसार बुधबार नै डिल्लीबजारमा भेटिएका एक बिरामीमा गरिएको र्यापिड टेष्टमा पनि हैजा पोजेटिभ देखिएको समेत बताए। र्यापिड टेष्टमा हैजा पोजेटिभ देखिए पनि कल्चर परीक्षणमा पठाइए पनि रिपोट नआइसकेको उनले बताए।
बागबजार क्षेत्रको पानीमा इकोली र कोलीफर्म जीवाणु
यता केही दिनअघि बागबजार हैजा देखिएका दिदिबहिनीलाई खानेपानीबाट हैजा भएको पुष्टि भएको छ। डा. गेलालका अनुसार दिदीबहिनीमा धारा र ट्युबवेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको हो। उनका अनुसार उनीहरूले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको हो ।
‘हामीले दुई दिदिबहिनीले खाँदै आएको पानी र बागबजार वरपरको धारा र ट्युबवेलको पानीको परीक्षण गरेका थियौँ, त्यस क्षेत्रमा खाने गरिएको पानी एकदमै दूषितका साथै पानीमा इकोली र कोलीफर्म नामक मानव स्वास्थ्यमा असर गर्ने जीवाणु पाइयो’‚ उनले भने।
चिकित्सकका अनुसार दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकोली भएको पानी खानाले झाडापखालाका साथै हैजा‚ आउँ, जण्डिस लगायतका समस्या देखिनुका साथै मिर्गौला तथा कलेजोमा पनि असर गर्छ ।
उनका अनुसार हालसम्म हैजा पुष्टि भएका व्यक्तिहरू निम्न आय भएका रहेका छन्। काठमाडौँको ठाउँ ठाउँमा हैजा देखिन थालेकाले पानी उमालेर मात्रै खान उनले आग्रह गरेका छन्।
गर्मी तथा वर्षायाममा झाडापखालाका, हैजा तथा पानीजन्य रोगहरू फैलने हुँदा पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइ विशेष गरी तथा खानेकुराको सरसफाइलाई ध्यान दिनुपर्ने समेत उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १३ : ५०
लेखकबाट थप