विराटनगरको षडानन्द सेल्फी रोडमा टिकटक बनाउनेको घुइँचो

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, ११ : ३४
विराटनगरको षडानन्द सेल्फी रोडमा टिकटक बनाउनेको घुइँचो

विराटनगर । विराटनगर महानगरपालिका–४ को पोखरियामा सर्वसाधारणको लागि सेल्फी रोड खुला गरिएको छ ।महानगरले एसियाली विकास बैंकको सहयोगमा नगरक्षेत्रमा निर्माण गरेकामध्ये षडानन्द चोक उत्तरको सडक सेल्फी रोडको रूपमा विकास गरिएको हो । षडानन्द चोकबाट उत्तर पोखरियाको बुद्धचोक पश्चिमको सडकसँग जोडिएको पाँच सय मिटर क्षेत्रको सडकमा साँझपख तस्बिर खिचाउने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । 

महानगरका निवर्तमान प्रमुख भीम पराजुलीका अनुसार सडकका दुवैपट्टि विभिन्न रंगका लाइट जडान गरिएको छ । सडक सौन्दर्यकरण गर्न सडक छेउमा सोलार लाइट जडान गरिएको छ । त्यहाँ उभ्याइएका खाँबोमा विभिन्न रंगीचंगी बत्ती जडान गरिएको र सडकको दायाँ–बायाँ भुइँमा टायल जडान गरिने पराजुलीले बताए । साँझ षडानन्द सडक घुम्न पुगेका विराटनगरका कैलाश चापागाईंले रंगीचंगी बत्तीका कारण सेल्फी खिच्न र टिकटक बनाउन सर्वसाधारणको भीड लागेको बताए । “अन्यत्र धेरै ठाउँमा सेल्फी रोडको चर्चा हुने गरेको थियो, विराटनगरमा पनि सडक सौन्दर्यीकरण गरिएपछि टिकटक बनाउन रमाइलो हुन थालेको छ,” चापागाईंले भने ।

पछिल्लो तीन वर्षमा विराटनगरमा एसियाली विकास बैंकको सहयोग परियोजना सञ्चालन भएपछि ६८ किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गरिएको छ । नाला र ढल निर्माणको कामसमेत पूरा भएको छ । महानगरले विराटनगरको हिमालय रोड र एयरपोर्ट रोडलाई पनि सौन्दर्यीकरण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस